बराह क्षेत्रको बजेट ९४ करोड

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज दशौँ नगरसभामा आगामी आवका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले आन्तरिक आय रु नौ करोड ५० लाख अनुमान गरिएको छ। संघीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानिकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी एक करोड ८१ लाख ४३ हजार गरेर जम्मा ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट विनियोजन गरिएको छ ।

चालु खर्चमा ५० करोड ४५ लाख छ भने पुँजीगत तर्फमा रु ४३ करोड ५७ हजार छुट्ट्याइएको छ । पूर्वाधार विकासमा १० करोड ८५ लाख ७२ हजार ९३०, आर्थिक विकासतर्फ पाँच करोड ४२ लाख ८५ हजार, सामाजिक विकास ६ करोड ७८ लाख ५७ हजार, विपद् वन तथा वातावरणमा एक करोड ९० लाख र सुशासन तथा क्षमता विकास दुई करोड १४ लाख २८ हजार विनियोजन गरिएको प्रमुख कार्कीले जानकारी दिए। नगरपालिकाले ‘समृद्ध बराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा तय गरिएको छ ।

वातावरणमैत्री नगर निर्माण गर्न ‘एक घर, दुई रुख’ अभियानलाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । रोजगारी प्रवर्द्ध गर्न ‘बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम’ तय गरिएको छ । महिला सशक्तीकरणको लागि उपमेयर सीप विकास तथा हिला सशक्तीकरण कार्यक्रम सार्वजनिक गरिएको हो ।

पर्यटन विकासका लागि रामधुनी, चतरा, बराहक्षेत्र, सूर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ । कोसी नदीमा जल विहार, जल यातायात र कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ। कोसी किनारमा होटेल रेस्टुरेन्टलगायत घोडाघोडी, फिसिङ, स्याण्डबाथ र स्याण्ड भलिबलको प्रवद्र्धनमा जोड दिइने भएको छ ।

बराहक्षेत्रको दुर्गम मानिएको सूर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकास गरी ठाकुरबारीबाट श्रीलंका टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा, एक गौरवका योजना’ र ‘एक वडा, एक खेलमैदान’ र हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्नेदेखि अव्यवस्थित बसोबास समाधानका लागि समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.