हरुवाचरुवा महिलामा आएको परिवर्तनले जनप्रतिनिधि बजेट विनियोजन गर्दै

राजु विश्वकर्मा, जनकपुर । घरबाट निस्कन र हतपति बोल्नसमेत लजाउने स्वभावकी सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी शोभादेवी सदा यतिबेला भन्ने दलित समुदायको अधिकारका लागि खुलेर बहस गर्न थालेकी छिन् ।

परिवारको गुजारा चलाउन वर्षांैदेखि स्थानीय साहुको खेतबारीमा कृषि मजदुरी गर्दै आएकी शोभादेवी यतिबेला मजदुरीमा भोगिरहेको समस्या र आफ्ना समुदायको हक अधिकारका बारेमा खुलेर बहस गर्न थालेकी हुन् ।

“मधेसी समाज, घरको बुहार्तन र गरिबीका कारण चाहेर पनि पहिला स्वतन्त्ररुपमा हिँडडुल गर्न र बोल्न सक्दैनथ्यो”, उनले भनिन्, “जब म आफ्नै गाउँमा गठित हरुवाचरुवा अधिकार मञ्चको सदस्य बन्ने, समूहमार्फत भइरहेको छलफल र बैठकमा सहभागी हुन थालेपछि बोल्ने साहस आएको हो ।” समूहमा दलित समुदाय र त्यसभित्र पनि हरुवाचरुवाको सवाल र अधिकारबारे निरन्तर बहस र छलफल भइरहेकाले आफू पनि सामाजिक विकासका क्षेत्रमा परिचालित भएको शोभा देवीको भनाइ छ ।

“सुरुमा द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित रिफलेक्ट कक्षामा सहभागी भए”, उनले भनिन्, ‘‘त्यहाँ अक्षर चिन्न र महिला अधिकार, हरुवाचरुवा र दलित अधिकारका बारेमा जानकारी भएपछि साहस बढ्यो ।” मजदुरीका क्रममा भोगिरहेको पीडा, साहुमहाजनबाट पाएको दुःख सम्झेर आँखा रसायो, विगतको त्यो सम्झेर मलाई हरुवाचरुवा अधिकारका लागि लड्ने प्रेरणा मिल्यो उनको भनाइ छ । विगतको शोषण, दुःख र पीडाले गर्दा नै आफूलाई दलित अधिकारका बारेमा लड्ने प्रेरणा मिलेको उनले बताइन् ।

बिरामी पतिको उपचारका लागि स्थानीय साहुसँग लिएको ऋण तिर्न नसकेर मजदुरी गर्न बाध्य सप्तरीकै शम्भुनाथ नगरपालिका– ३ की सुमित्रादेवी सदा पनि यतिबेला हरुवाचरुवाले भोग्दै आएको दुःख पीडाबारे निर्धक्क भएर बोल्न थालेकी छिन् । “सुरुसुरुमा घरको सासु, जेठाजु लगायतले तालिम, भेलामा जान रोक्नुहुन्थ्यो तर विस्तारै घरमा सबैलाई सम्झाउँदै बुझाउँदै गएपछि कुरा बुझ्न थालेको र अहिले गाउँ टोलदेखि बाहिरी जिल्ला जानु पर्दासमेत कसैले रोक्दैनन्”, सुमित्रादेवीले भनिन्, “अहिले त गाउँदेखि शहर र स्थानीय तहमा समेत आफ्नो हक र अधिकारका बारेमा ढुक्क भएर बोल्न सक्छु ।”

समान्य लेखपढ गर्नसमेत नजानेकी सुमित्रादेवी अब साहुमाहजनमा मजुरी गर्न छाडेर गाउँमा किराना पसल खोलेर व्यवसायी गर्ने सोचाइमा रहेको बताइन् । “ज्याला मजदुरीमा दिनभरी काम गर्दा पाँच किलोग्राम धान मात्र ज्याला पाउँछौँ”, उनले भनिन्, “त्यसबाट परिरवार चलाउनसमेत समस्या हुन्छ, त्यसैले अब गाउँमै व्यवसाय गर्न चाहेकी छु ।” आफूलाई व्यवसाय गर्न गाउँकै हरुवाचरुवा अधिकार मञ्चका सदस्यले सहयोग गर्न आश्वासन दिएको उनको भनाइ छ ।

आर्थिक विपन्नता र चेतनाको अभावमा साहुमाहाजनमा श्रम गर्दै आएकी शोभादेवी र सुमित्रादेवीको जीवनमा आएको यो परिवर्तन कुनै चमात्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सशक्तीकरण कार्यक्रमबाट आएको हो । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाका माध्यमबाट हरुवाचरुवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियतामा गठन भएको हरुवाचरुवा बचत समूहमा आबद्ध भएकी शोभादेवी र सुमित्रादेवी त्यही समूह सक्रिय छन् ।

दलित र विपन्नता भएकै कारण हरुवाचरुवाका रुपमा जीवन बिताउँदै आएका ती दलित समुदायका महिलामा आएको परिवर्तनसँगै स्थानीय जनप्रतिनिधिले पनि हरुवाचरुवाको सशक्तीकरणका लागि बजेटसमेत विनियोजन गर्न बाध्य भएका छन् । चालू आर्थिक वर्ष २०७८÷०७९ मा सप्तरीको शम्भुनाथ नगरपालिकाका विभिन्न वडाले वडास्तरीय बजेटमा हरुवाचरुवाको सशक्तीकरणका लागि छुट्टै बजेट विनियोजन गरेका छन् ।

शम्भुनाथ नगरपालिका¬– ३, वडा नं ५, वडा नं ७, वडा नं ८ र वडा नं ९ ले हरुवाचरुवा सशक्तीकरण विशेष कार्यक्रम तथा अतिरिक्त कक्षा सञ्चालनका लागि भन्दै एक÷एक लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै हरुवाचरुवा परिवारको सशक्तीकरणका लागि शम्भुनाथ नगरपालिका वडा नं ४ ले ५६ हजार ७ सय ४६ रुपैयाँ र र वडा नं ११ ले ८८ हजार ७ सय २६ रुपैयाँ बजेट छुट्याएको नगरपालिकाका सूचना अधिकारी प्रधुम्न पोखरेलले बताए । “सुरुसुरुमा हरुवाचरुवाको को हुन, कति सङ्ख्यामा छन् भन्ने नै थाहा थिएन्”, उनले भने, “गाउँगाउँमा हरुवाचरुवासम्बन्धी कार्यक्रम चल्न थालेपछि बिस्तारै हामीलाई जानकारी हुन थालेको छ ।” त्यही भएर वडाध्यक्षले आफ्नो वडास्तरीय बजेटमा हरुवाचरुवा लक्षित कार्यक्रम शीर्षकमा बजेट छुट्याउन थालेको उनको भनाइ छ ।

पछिल्लो समय दलित महिलामा आएको परिवर्तन लोभलाग्दो रहेको बताउँदै शम्भुनाथ नगरपालिका– ५ का वडाध्यक्ष हिरणकुमार चौधरीले यहाँको दलित बस्तीका महिलामा आएको चेतनाबाट अन्य ठाउँका महिलाले पाठ सिकेर अघि बढे छिटै सामाजमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.