खलङ्गा । यहाँको चन्दननाथ नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रबद्र्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ नगरपालिकाले किसानलाई अनुदानमा भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ ।
नगर प्रमुख कान्तिका सेजुवालले यस कार्यले कृषकको आयआर्जनमा थप सुधार हुने बताइन् । उनका अनुसार चन्दननाथ नगरपालिका–३ मा ४२ वटा उन्नत बाख्रा, ८ नम्बर वडामा १० वटा दुहुना भैंसी, एक राँगा र ४२ वटा बाख्रा वितरण गरिएको छ । वडा नं ९ मा पनि १० भैंसी र एक वटा राँगा वितरण गरिएको छ ।
कोरोनाका कारण सयौँको रोजगारी गुमेको, उद्योगधन्दा सञ्चालन गर्न सक्ने अवस्था नभएका बेला नगरपालिकाकाले वडा नं ३, ८ र ९ का व्यावसायिक किसानलाई गाउँमै पुगेर भैसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरेको उनको भनाइ छ । नगरपालिकाका उपप्रमुख अप्सरादेवी महतले भनिन्, “नगरभित्रका विपन्न तथा व्यावसायिक कृषकलाई ७५ प्रतिशत अनुदानमा भैँसी र बाख्रा दिएका छौँ ।”
नगरपालिकाले किसानलाई करीब रु ३६ लाख बराबरका भैंसी राँगा र बाख्रा वितरण गरेको जनाएको छ । नगरपालिकाको वडा नं ८ र ९ मा रु २१ लाख बराबरका २० वटा भैंसी र दुई वटा राँगा वितरण गरिएको छ । वडा नम्बर ३ र ८ मा रु १५ लाखका ८४ वटा उन्नत बाख्रा वितरण गरिएको छ ।
व्यवसाय प्रवद्र्धनसँगैै कृषकको जीवनस्तरमा सुधार भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरिने नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । राम्रो गरेका किसानलाई भैंसीको दूधबाट परिकार बनाउन सीपमूलक तालीम समेत दिइने छ । बाख्रापालनका लागि आधुनिक खोर निर्माणको पनि अघि बढेको छ ।
Comments are closed.