बिवाइडीद्वारा १ करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने मालिक

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले १ करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा एक विशेष कार्यक्रम गरेको छ । कम्पानीले ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बिवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गरिएको छ । बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्वपूर्ण चरण हो ।

कामाकारीमा रहेको कारखाना एशियाभन्दा बाहिर बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरू, साथै बिवाईडीका अध्यक्ष तथा सिईओ वाङ छुआनफु लगायत सहभागी थिए ।

समारोहमा राष्ट्रपति लुला ले भने, “चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एक–अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेरिरहेका छौं”, उनले थपे, “ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्ष व्यवहार चाहन्छ, र चीनसँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न चाहन्छ ।”

बिवाइडीका अध्यक्ष वाङ छुआनफुले भने, “हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौं । आज यहाँ बिवाइडीका विद्युतीय बसहरू सामान्य देखिन्छन् । ब्राजिलमा हाम्रा एक लाख ७० हजारभन्दा बढी ग्राहकहरू छन् र दुई वर्षदेखि हामी यहाँको बिवाइडी बजारको अग्रणी बिक्रेता रहेका छौं ।”

बिवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय भनेको छ । कम्पनीले अबका दिनमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

हालसम्म बिवाइडीका ६ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् । ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ ।

सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बि(वाइडीले जनाएको छ ।

You might also like

Comments are closed.