ब्रोडवे इन्फोसिसलाई ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड

काठमाडौं । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वल्र्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्सबाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ ।

ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार (१९ अगस्ट) सम्पन्न विशेष समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो । कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पु¥याएको योगदान र दक्ष जनशक्ति उत्पादनमा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ ।

देशको डिजिटल रूपान्तरणमा ब्रोडवेले खेलेको महत्त्वपूर्ण भूमिकाको पनि अवार्डले प्रशंसा गरेको छ । समिटको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले सो अवार्ड ग्रहण गरेका थिए । यो पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभई नेपालको समग्र आईटी परिदृश्यमा परेको सकारात्मक प्रभावको प्रमाण भएको कम्पनीले प्रतिक्रिया जनाएको छ ।

विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरूको छाता संगठन हो । नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ । विट्साले आयोजना गर्ने ग्लोबल एआई समिट विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण अवसर मानिन्छ ।

‘एआई सेपिङ द डिजिटल वल्र्ड’ थिममा केन्द्रित यस वर्षको समिटले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र विकासमा जोड दिएको छ । ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौँ कम्पनीले मनोनयन दर्ता गराएका थिए ।

अवार्ड समारोहको अघिल्लो दिन क्यान महासंघको टोलीले ताइवानी डिजिटल अफेयर्स मन्त्रालयका मन्त्री डा. यु–नेन ह्वाङलाई भेट गरी नेपालको डिजिटल यात्रा तथा क्यान महासंघले नेपाल सरकार र मातहतका निकायसँग विभिन्न नीति निर्माणमा खेलेको भूमिकाका बारेमा जानकारी गराएको थियो ।

सो अवसरमा हालै जारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति निर्माणमा क्यान महासंघले नेपाल सरकारलाई दिएको सुझावलगायतका विषयमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले विस्तृत जानकारी दिएका छन् ।

कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष तथा विट्साका कोषाध्यक्ष रणजित कुमार पोदार, क्यान महासंघका प्रबन्धक उदिप बराल, होरिवन नेपालका निर्देशक जितेन्द्र पोद्दारलगायतको समेत सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.