सीजी मोटर्सले थापाथलीमा खोल्यो एक्सपेङको फ्ल्यागशिप शोरूम

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङको फ्ल्यागशिप शोरूमको उद्घाटन गरेको छ । विद्युतीय गाडी एक्स्पेङको लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले शोरुम उद्घाटनसँगै जी६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

कार्यक्रममा बोल्दै एक्सपेङ मोटर्सका उपाध्यक्ष डा. ब्रायन गूले एक्सपेङ ब्रान्ड नेपाली ग्राहकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय गाडीलाई प्राथमिकता दिदै बजार विस्तार गरिरहेको बताए ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसईपिएस २.० प्रविधिहरू ल्याएको कम्पनीले जनाएको छ । यसमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाएको छ ।

एक्सपेङ जी६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा आल्मुनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात छ ।

गाडीले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ । यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ राडार, अल्ट्रासोनिक सेन्सर, क्यामेरा र ड्युअल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ ।

गाडीको लम्बाइ ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । ह्विलमा पनि १८ र २० इन्चको अप्सन दिइएको छ ।

अब, काठमाडौंको थापाथलीमा रहेको नयाँ शोरुममा ग्राहकले एक्सपेङका गाडीहरूलाई नजिकबाट अनुभव गर्न र टेस्ट ड्राइभ लिन सक्ने कम्पनीले जनाएको छ ।

एक्सपेङले विश्वभरि ३० भन्दा बढी देशहरूमा आफ्नो अत्याधुनिक एआई–संयुक्त गाडीहरूको उपस्थिति सुनिश्चित गरेको छ । साथै, विश्व अटोमोटिभ क्षेत्रमा चर्चित फक्सवागन ग्रुपले एक्सपेङको ईभी प्रविधि र एआई प्लेटफर्ममा ठूलो लगानी गरेको छ ।

सीजी मोटर्सले नेपालभर २० भन्दा बढी सेल्स र सर्भिस सेन्टर सञ्चालन गर्दै एक्सपेङलाई आफ्नो ब्रान्ड पोर्टफोलियोमा समाहित गरेको छ । कम्पनीले यस वर्षको अन्त्यसम्म ४० नयाँ सर्भिस सेन्टर खोल्ने योजना ल्याएको छ । त्यस्तै २४४ भन्दा बढी स्थानमा डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्ट थप्ने लक्ष्य रहेको बताएको छ ।

lcci
You might also like

Comments are closed.