काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन् । मंगलबार मेची उद्योग वाणिज्य संघको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले व्यावसायिक सहजीकरण गरी लगानीको वातावरण बनाउनुपर्ने धारणा राखे । ‘निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रुपमा राज्यले स्वीकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय लाग्दैन,’ उनले भने ।
मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्य हुन सकेमा नेपालमा पनि हामीले चाहेको आर्थिक विकास र सम्मृद्धिको सम्भावना रहेको बताए । ‘केही वर्ष अगाडि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आउनुभएको थियो । त्यसबेला मैले उहाँलाई काठमाडौका केही स्थानहरु घुमाउने अवसर पाएको थिएँ । त्यसबेला मैले उहाँलाई सोधेको थिए– प्रधानमन्त्रीज्यू, यति छिटो समयभित्र मलेसियाले गरेको विकासको रहस्य के हो भनेर । उहाँले भनेको मैले अहिले पनि निकै सम्झिइरहेको छु । उहाँले भन्नुभएको थियो राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन,’ उनले भने ।
राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने उनले बताए । अहिले नेपालमा पनि धेरै स्थानीय तहमा लगानीको लागि एक प्रकारको प्रतिष्पर्धा हुने गरेको बताउँदै उनले रोजगारी सृजना गर्न, राजश्व संकलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरु गर्न सकिने धारणा राखे ।
निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यावसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने उनले बताए । महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरुका हकहितका विषयवस्तुहरु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण जस्ता विषयमा आफू निरन्तर क्रियाशील रहने उनले बताए ।



Comments are closed.