द्वन्द्वपीडित चन्द्रबहादुर सफल व्यवसायी बने

नारायणी रजौरे, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी गाईपालन गरेर छोटो समयमा आर्थिकरूपमा सक्षम भएको छन् । उनले पछिल्लो समय आफूलाई सफल व्यवसायीका रूपमा चिनाएको छन् । डाँगीको फार्ममा अहिले गाई हेर्न तथा दुग्धजन्य वस्तु किन्न आउनेको दिनहुँ भीड लाग्ने गरेको छ ।

पाँच वर्षदेखि सो पेशा अँगालेका डाँगीलाई परिवारका सबै सदस्यले साथ दिइरहेका छन् । सफल गाईपालकरूपमा चिनिएका उनी आजभोलि गाईका बाच्छाबाच्छीलाई स्याहार्नमै व्यस्त हुन्छन् । “सबै खर्च कटाएर वार्षिक आठ लाख रूपैयाँसम्म बचत गर्न सफल भएको छु”, डाँगीले भने ।

विसं २०५५ मा डाँगी जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए । सशस्त्र द्वन्द्वका समयमा उनी तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परी घाइते भए । घाइते भएपछि उनी लामो समयसम्म उपचाररत भए । द्वन्द्वमा परी अशक्त तथा घाइते भएका सुरक्षाकर्मीलाई सरकारले सेवाबाट अवकाश दिने नीति ल्याएपछि डाँगी २०५९ सालमा सेवानिवृत्त भए । “केही समय रोल्पास्थित घरमा उपचार तथा आराम गरी बसेँ”, उनले भने । पछि बसाइँ सरेर दाङको तुलसीपुर आएपछि डाँगीले तुलसीपुरमा होटल सञ्चालन गरे । “होटल व्यवशायबाट घाटा भएपछि सहकारी संस्था जागिर खान थालेँ”, डाँगीले विगत सुनाए ।

सहकारीमै काम गर्दा कृषि क्षेत्रका बारेमा ज्ञान हासिल गरेपछि डाँगीले २०७२ सालमा साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालनमा लागे । सुरुआतमा उनले दुई बिघा जमिन वार्षिक १२ हजार भाडामा लिई एक लाख लगानी गरेर एउटा जर्सी गाई पाले । डाँगीकहाँ अहिले १७ गाई र १० बाच्छाबाच्छी छन् । एउटा जर्सीगाईको मूल्य एक लाख, होलेस्टनको  दुई लाख र साहीवाल जातको गाईको मूल्य  एक लाख ५० हजारसम्म पर्ने डाँगी बताउँछन् ।

“दैनिक १५० देखि २०० लिटरसम्म दूध तुलसीपुरका विभन्न डेरी उद्योगमा बिक्री गर्छु”, उनले भने । केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गर्ने गरेको उनले बताए । दाङमा प्रतिलिटर दूधको थोक मूल्य ६५ तथा खुद्रा मूल्य ८० छ । सोमबार उनको फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ की ४५ वर्षीया पूर्णिमा भट्टराईले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताइन् । उनले भनिन्, “यसअघि दूध किन्न बजार जानुपर्ने बाध्यता थियो, अहिले घरछेउमै ताजा दूध पाउँदा खुशी लागेको छ ।”

डाँगीले फार्ममा अहिलेसम्म २० लाखसम्म लगानी गरिसकेका छन् । दुग्धजन्य पदार्थ र मल बिक्री गरी वार्षिक १९ देखि २० लाख रूपैयाँसम्म कारोवार हुने गरेको छ । उनले दुई बिघा जमिन गाईपालनका लागि भाडामा लिनुभएको छ । सिँचाइ अभावले घाँसखेती गर्न नसक्दा समस्या भएको छ । पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको डाँगीले बताए ।

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाएको छु, तर आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, डाँगीले भने । उनले थपे, “दुई वर्षअघि तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत ग¥यो, त्यसबाट थप हौसला मिलेको छ ।” त्यस्तै कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा आफूले उत्पादन गरेको दूध बजारमा बिक्री नहुँदा केही समस्या भए पनि अहिले भने बजारको कुनै समस्या नभएको डाँगीले बताए ।

कम लगानीमा छोटो समयमा मन्नग्य आम्दानी गर्न सकिने भएकाले अहिले डाँगीको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन र गाई खरिद गर्न आउने गरेका छन् । कमाउनकै लागि जागिर खानैपर्छ भन्ने मान्यता गलत भएको डाँगीको भनाइ छ । सरकारले नारामा मात्र सीमित नभई व्यवहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने डाँगीको माग छ । उत्पादित सामग्री बिक्री गर्न बजारको व्यवस्था गनुपर्ने उनको सुझाव छ ।

You might also like

Comments are closed.