पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटल प्रा.लि. स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । हस्पिटलले आइतबार १३औं वार्षिकोत्सव मनाएको छ ।
सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हस्पिटलका प्रवन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार एक कार्यक्रमबीच बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको छ । आइतबार नै हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै हस्पिटलले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ ।
वार्षिकोत्सवको अवसरमा प्रवन्ध निर्देशक पोखरेलले सेवाग्राही, कर्मचारी, चिकित्सक लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । हालसम्म सेवा प्रदानको अवसर प्रदान गर्ने सेवाग्राहीप्रति आभार भक्त गर्दै उनले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र परिमार्जन गरी स्तरीय स्वास्थ्य सेवा प्रदानको प्रतिबद्धतालाई थप विश्वासिलो बनाउने उनले प्रतिबद्धता जनाए ।
२०६९ साल मंसिर १० गते स्थापना भएको चरक हस्पिटलले १३ वर्षसम्म समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र करुणासहितको सेवा प्रदान गर्न सफल भएको उनले बताए । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित हस्पिटलले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ,’ प्रवन्ध निर्देशक पोखरेलले भने ।

पोखराको नागढुंगामा रहेको यो हस्पिटल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । ७ तले भवन भूकम्प प्रतिरोधी छ भने हेलिप्याड सुविधासहितका संरचना छन् । हस्पिटलले अत्याधुनिक उपकरण, नवीनतम प्रविधिबाट सेवान प्रदान गरिरहेको पोखरेलले बताए । यो मल्टी–स्पेशालिटी हस्पिटल हो ।




Comments are closed.