पोखरा । आगामी पुस ७ गतेबाट लेखनाथ महोत्सव सुरु हुँदैछ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने ‘१८औं लेखनाथ महोत्सव’ पुस १८ गतेसम्म सञ्चालन हुनेछ । सगरमाथा इन्स्योरेन्सको मुख्य प्रायोजन रहेको महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो । प्रस्तुत छ, महोत्सवको तयारी, व्यवस्थापन तथा सुरक्षा प्रवन्धलगायतका विषयमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयसँग गरिएको कुराकानीः
कस्तो हुँदैछ मेलाको तयारी ?
हाम्रो मेलाको तयारी उत्तरार्धमा पुगिसक्यो । कोभिड सङ्क्रमणका कारण करिब दुई वर्ष पछि हुन लागेको महोत्सवको तयारी सरल र सहज तरिकाले सबैको सहयोगमा भव्यरुपमा गरेका छौं ।
मेला कुन ठाउँमा, कहिलेदेखि आयोजना हुँदैछ ?
हाम्रो मेला पुस ७ गतेदेखि १८ गतेसम्म चल्नेछ । मेला पोखरा महानगरपालिका वडा नं. २७ को तालचोक डाडाको नाकमा आयोजना हुँदैछ ।
मेला आयोजना गर्नुको उद्देश्य के हो ?
ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले मेलाको आयोजना गर्दैछौं । यहाँका पर्यटकीय स्थलको पहिचान गराउने छुट्टै खालको बेगनास तालको डेमो पनि गरेर हामीले कार्यक्रम राख्छौं । यसका साथै हस्तकलाका, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु पनि मेलामा हुनेछन् । मेलामा विभिन्न प्रकारका छुट्टा छुट्टै स्टलहरु रहने छन् । जसमा मेसिन, अटो गार्मेन्ट तथा हस्तकलाका स्टलहरु छुट्टा छुट्टै रहनेछन् । साथै मेलामा कसैले आफ्ना उत्पादनहरु प्रदर्शनका लागि राख्न सक्नेछन् । विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी छ । आफ्नो सेवा तथा वस्तु प्रमोशनका लागि विभिन्न प्रतिष्ठानका स्टल छन् । मेलाका लागि लगभग सबै स्टल बुकिङ भइसकेका छन् ।
प्रायोजकहरु को-को छन् ?
मेलामा सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक र सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक छ । अन्य विभिन्न प्रायोजकसँगको छलफल जारी छ । फाइनल हुन बाँकी छ । जसमा कामना सेवा विकास बैंक, नेपाल इन्स्योरेन्सलगायतका छन् । मेलामा हामीसँग विभिन्न संघ संस्थाले सहकार्य गर्नुभएको छ । सह-आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश छन् । प्रवद्र्धकमा पर्यटन बोर्ड र पोखरा महानगरपालिका छन् । यहाँका विभिन्न संघ संस्था, आमा समूह, जातजातिका संस्था, सरकारी गह्रैसरकारी संघ संस्थाहरु सबै सहयोगी संस्थाका रुपमा रहने छन् ।
मेलाको कति जनाले अवलोकन गर्ने अपेक्षा छ ?
करिब साढे २ लाख दर्शकले मेलाको अवलोकन गर्ने र मेलाबाट ९५ लाख आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । १० लाख नेट बचतको अनुमान छ । बचत भएको पैसा लेखनाथकै विकासका लागि खर्च हुनेछ । सामाजिक आवश्यकताले मागेका उद्योग वाणिज्य संघका कार्यक्रम, विभिन्न बैंकिङ सेक्टरका कार्यक्रम, सहकारी सेक्टरका तालिम तथा गोष्ठी आयोजना गर्नका लागि खर्च गरिनेछ । बढी सरोकारका विषयमा लेखनाथको विकासका लागि, खेलकुदका इभेन्ट, पर्यटन प्रवर्द्धनलगायत यहाँका सामाजिक क्षेत्रमा नै खर्च गर्नेछौं ।
टिकटको व्यवस्था कस्तो छ ?
विद्यार्थीको सहुलियतका लागि ५० र सामान्य टिकट ८० रुपैयाँ तोकेका छौं । बेलुकी १ सय ५० गरेका छौं ।
मेलामा सुरक्षाको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
मेलाको सुरक्षाका लागि हामीले वडा हुँदै महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिन्छौं । त्यसमा सुरक्षाका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयसँग समन्वय गरेका छौं । सरसफाइका लागि हामीले महानगरसँग समन्वय गरेका छौं । हामी आफैंले पनि सहयोग गर्नेछौं । मेलामा स्वयम सेवकको रुपमा पनि हामी आफैं खट्नेछौं ।
मेला अवलोकन कर्ताहरुलाई के भन्नु हुन्छ ?
अहिले लगानीकर्ताहरु अप्ठेरो अवस्थामा छन् । बैंकको व्याजसँगसँगै विभिन्न कुराले सबैको कष्ट दिनप्रति दिन बढ्दैछ । सबैको व्यवसाय एकदमै पेचिलो अवस्थामा छन् । यस्तो अवस्थामा मेलाले कमसेकम आर्थिक चलायमान गराएर व्यवसाय प्रवर्द्धन गर्न सहयोग गर्छ । व्यवसायलाई अलिकति भएपनि उजागर गर्न र त्यसलाई प्रमोशन गर्न सहयोग गर्छ । यस्तो अवस्थामा सबैलाई एकपटक मेला हेर्न र अवलोकन गर्न सबैमा अनुरोध छ ।
Comments are closed.