प्रधानाध्यापकको खोर्सानी खेती

कृष्ण दर्नाल, पाल्पा । सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा जनक आचार्य शिक्षण पेशासँगै व्यावसायिक खोर्सानी खेतीमा पनि व्यस्त छन् । घर नजिकैको प्रभात माध्यमिक विद्यालयको उनी प्रधानाध्यापक हुन् ।

दुई सय रोपनी बाँझो खेतबारीमा व्यावसायिकरूपमा खोर्सानी खेती गरेका प्रधानाध्यापक आचार्यले रु एक करोड आम्दानी हुने अनुमान गरेका छन् । यसैगरी चालिस रोपनी जमिनमा गरिएको सुन्तला खेतीबाट वार्षिक रु सात लाख र गोलभेँडा खेती तथा कुखुरापालन व्यवसायबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । परिवारको सहयोगका कारण शिक्षण पेशासँगै कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरेका हुन् ।

प्रधानाध्यापक आचार्य र कृष्ण भट्टराईद्वारा सञ्चालित त्रिपुट कृषि तथा पशु बहुउद्देश्यीय फार्मको सोे खोर्सानी खेतीले सबैको मन लोभ्याएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वन एकाइको चक्लाबन्दी कार्यक्रमबाट उक्त खेतीका लागि सहयोग मिलेकाले बाँझो जमिनमा व्यावसायिकरूपमा खेती गर्न थालिएको प्रधानाध्यापक आचार्यको भनाइ थियो । परियोजनाको सहयोगका कारण पहाडको भिरालो जमिनलाई उत्पादनशील बनाउँदै आम्दानीको स्रोत बनाउने प्रयास गरिएको उनले बताए ।

“शिक्षित तथा अशिक्षित युवा शक्ति रोजगारीका लागि विदेश पलायन भएका छन् । गाउँमा बाँझो खेतबारीमा लाखाँै आम्दानीको सम्भावना छ”, प्रधानाध्यापक आचार्यले भने, “आउनुहोस् सँगै मिलेर कृषिमा काम गरौँ, स्वरोजगार बनौँ र रोजगारीका अवसर सिर्जना गरौँ ।”

परम्परागत अन्नबाली धान र मकैखेतीबाट प्राप्त आम्दानी कम हुने भएकाले सो व्यवसाय छाडेर व्यावसायिकरूपमा खोर्सानी खेतीमा आकर्षण बढेको हो । रैथाने अन्नबाली उत्पादनमा बढी श्रम खर्चिनुभन्दा सयौँ गुणा बढी फाइदा हुने, बाँदरलगायत वन्यजन्तुबाट नोक्सानी न्यून हुने यस खेतीप्रति आफू आकर्षित भएको उनले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.