सिटिजन्स बैंकको नयाँ शाखा थप, पोखराको बिरौटाबाट सेवा शुभारम्भ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पोखराको बिरौटामा नयाँ शाखा सुरुवात गरेको छ । शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३ औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । उनले ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए । सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको जनाएको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ । डि–म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो बर्ष लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ । उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा लगायत सहभागी थिए ।

सोही अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । पाठशालामा आवासीय रुपमा रहेर संस्कृत अध्ययन गर्दै आएका विद्यार्थीलाई सहयोग गरिएको बताए ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईबाट १७ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले यसै आर्थिक वर्ष थप ४ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ । रासस

You might also like

Comments are closed.