सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच सम्भmौता भएको छ ।  AliPay+ नेटवर्कमा रहेका सदस्यलाई वालेटमार्फत नेपाल पे मर्चेन्ट अन्तरदेशीय भुक्तानी गर्नका लागि आइतबार सम्झौता गरिएको हो ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा  AliPay+ नेटवर्क मार्फत भुक्तानी गर्न सकिनेछ ।

चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

नेपाल क्लियरिङ हाउसले  AliPay+ सँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्क बीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहल अनुरूप सिटिजन्स बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

lcci
You might also like

Comments are closed.