काठमाडौं । आगामी चैतको ३ गते काठमाडौंमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो ।
परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उक्त शिखर सम्मेलन आयोजनाबारे जानकारी दिए । उनकाअनुसार सम्मेलनमा प्रविधि र नवप्रवर्तन, दिगो कृषिमा महिला, महिलामा लगानीलगायतका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ ।
सम्मेलनमा परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञलाई एउटै थलोमा ल्याउने र सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहन छलफल गरिने अध्यक्ष अग्रवाल बताउँछन् । “यस सम्मेलन वर्तमान एवं सफल उदाहरणमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्नेछ”, परिसङ्घका अध्यक्ष अग्रवालले भने, “छलफल, अन्तरक्रियाबाट तत्काल उपलब्धि मिल्ने हैन । सम्मेलनबाट प्राप्त सुझाव र प्रतिवेदनले सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
परिसङ्घले निजी क्षेत्रको उत्पादनमूलक एवं सेवामुलक संस्थाको प्रतिनिधिका रूपमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासमा सरकारसँग सहकार्य गर्दै आएको छ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलासहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलालाई अगाडी बढाउन सहयोग पुग्ने बताएका छन् । टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईले महिलाहरुलाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आईरहेको र सोही अनुरुप यस सम्मेलनमा पनि बैंक आवद्ध भएको जनाएका छन् । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ ।
सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एशियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ । नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लु बृद्धि मोटर्स, डाबर नेपाल, युनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउण्डेसन, वल्र्डलिंक कम्युनिकेशन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्यूलिसिभ फ्युचर फाउण्डेसन लगायतका संस्था सहयोगीको रुपमा रहेका छन् ।
Comments are closed.