एमच्याम नेपाल र परिसंघको सहकार्यमा अमेरिकामा टेक पीक नेपालः ओर्लान्डो सम्पन्न

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपाल र उद्योग परिसंघ (सीएनआई)को संयुक्त पहलमा अमेरिकामा ओरलान्डो र इमर्ज अमेरिका मियामी प्रविधि सम्मेलनमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सम्पन्न भएको छ ।

त्यसअवसरमा एमच्याम नेपालले नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ र मियामीमा आयोजित इमर्ज अमेरिकामा सहभागिता जनाएको छ ।

कूल ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा सातवटा विभिन्न कम्पनीका प्रतिनिधिहरू सहभागी भएको एमच्यामले जनाएको छ । जसमा पीडब्ल्यूसी, इन्फोसिस, क्यापजेमिनी, कोग्निजन्ट, विप्रो, एसएपीलगायत ठूला अमेरिकी कम्पनीहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै नेपाललाई सूचना प्रविधि आउटसोर्सिङको उदाउँदो गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो ।

सम्मेलनमार्फत नेपालको सूचना प्रविधि क्षेत्रको सम्भावनालाई विश्वसामु चिनाउँदै अमेरिकी कम्पनीहरूलाई नेपाली कम्पनीसँग जोड्ने उद्देश्य रहेको एमच्याम नेपालले जनाएको छ । एआई इनोभेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेम्स डोनोभानले प्रदर्शनीमा रहेका अधिकांशले नेपाली प्रतिनिधिमण्डललाई रणनीतिक साझेदारका रूपमा हेरेको बताए । उनले नेपाली कम्पनीहरूले देखाएको सीप, क्षमता र प्रतिभाको प्रशंसा समेत गरेका थिए ।

एमच्याम नेपालका संस्थापक अध्यक्ष तथा सीएनआई आईटी काउन्सिलका प्रमुख एवं प्रतिनिधिमण्डलका नेतृत्वकर्ता अजीतविक्रम शाहले नेपाललाई बीपीओ, केपीओ, आईटी, आईटीईएस तथा अन्य उद्योगका लागि नेपाल केन्द्र बन्न सक्नेमा जोड दिए । एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले एमच्याम नेपाल र परिसङ्घबीचको सहकार्यले नेपालको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए ।

यस रोडशोले सिर्जना गरेका अवसरले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने विश्वास व्यक्त गरेका छन् । प्रदर्शनीमा नेपाली प्रतिनिधिमण्डलले विभिन्न बहुराष्ट्रिय कम्पनीका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्दै नेपालको सूचना प्रविधि उद्योगको सम्भावनाबारे छलफल गरेका थिए । सन् २०२४ देखि सुरु भएको टेक पीक नेपालले सूचना प्रविधि क्षेत्रको समग्र आर्थिक वृद्धिलाई सशक्त बनाउने प्लेटफर्मका रूपमा काम गरिरहेको छ ।

यसले नेपाललाई समावेशी आर्थिक वृद्धिका लागि आईसीटी साझेदारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको एमच्यामको भनाइ छ । सम्मेलनमा ६० देशका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शनीमा ओर्लान्डो इकोनोमिक पार्टनरसिपका डेरेक एम्फ्रे तथा फ्लोरिडा राज्य सरकारका अधिकारीहरूसँग महत्वपूर्ण बैठकहरू भएका थिए । इमर्ज अमेरिकाका व्यावसायिक प्रमुख टिजे विलामिलले नेपाली टोलीलाई पर्यवेक्षकका रूपमा आमन्त्रण गरेका थिए ।

एमच्याम नेपालका महाप्रबन्धक अमिर थापाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपाली सूचना प्रविधि उद्योगको प्रवद्र्धनमा अझ प्रभावकारी कदम चालिने बताए । “आगामी दिनमा पनि एमच्यामले यसप्रकारका अवसर उपलब्ध गराउनेछ, यो आर्थिक रुपमा सम्पन्न हुने अवसर पनि हो”, उनले भने ।

You might also like

Comments are closed.