हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई परिसंघको बधाई

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गरेका छन् ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले हस्तकला उद्योग हाम्रो मौलिक उद्योग भएकाले यस क्षेत्रलाई प्रबद्र्धन गर्न आवश्यक रहेको बताए । हस्तकला तुलनात्मक लाभको क्षेत्र भएकाले यसको प्रबद्र्धनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । परिसंघ एवं हस्तकला महासंघको संस्थागत उद्देश्य समग्र अर्थतन्त्रको विकास नै भएकाले यसका लागि सहकार्य गर्दै अगाडि बढ्ने उनी बताउँछन् । परिसंघले नेपाल सरकारलाई बुझाउने नीतिगत सुझाव अध्ययनमा आधारित हुने गरेको बताउँदै उनले अध्ययनमा आधारित भएर सुझाव दिदा सरकारले सुन्ने गरेको समेत बताएका छन् ।

हस्तकला महासंघका अध्यक्ष शाक्यले स्वदेशी वस्तुको उपयोग बढाउन परिसंघले गरेको पहलका लागि धन्यवाद व्यक्त गरेका छन् । साथै उनले स्वदेशी वस्तुहरुको खपत बढाउन थप पहल आवश्यक रहेको र संस्थागत रुपमा अर्थतन्त्रको विकासका लागि परिसंघसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको बताएका छन् । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.