काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै छलफल गरेको छ ।
परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीसँगको छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग बलियो सहकार्य नगरेसम्म अर्थतन्त्र बलियो नहुने बताए । उनले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा पनि निजी क्षेत्रका मुद्धाहरुलाई उच्च प्राथमिकता दिएको जनाए । रिसर्च केन्द्रित तथ्यपरक सुझावका कारण परिसंघ सक्षम संस्था बनेको पूर्व प्रधानमन्त्री प्रचण्ड बताउँछन् ।
परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्यका साथ काम गर्न लागेको बताए । उनले यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताउँदै उनले सरकार, राजनीतिक दलहरुले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
यसैगरी गृहमन्त्री लेखकसँगको छलफलमा सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ । अवैध कारोबारले स्वदेशी उद्योगहरु प्रभावित हुनुका साथै त्यसको असर सरकारको राजश्वमा समेत परेको परिसंघका अध्यक्ष पाण्डे बताउँछन् ।
गृहमन्त्री लेखकले नेपाल र भारत सरकारका गृह सचिवस्तरिय बैठकले सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्ने उपायका विषयमा छलफल गर्ने बताए । साथै उनले अवैध आयात नियन्त्रण, पर्यटकलाई सहज रुपमा आउने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
गृहमन्त्रीसँगको छलफलमा प्रहरी प्रमुख दिपक थापा, परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राजबहादुर शाह, हेमराज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
Comments are closed.