‘आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न परिसंघ प्रतिबद्ध छ’

काठमाडौं । जेनजीको आन्दोलनका कारण  देशभर भएको क्षतीप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ । परिसंघले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्ने लगायतका युवापुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । “विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आमनेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं, यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ” विज्ञप्तीमा भनिएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीलाई दुखि बनाएको परिसंघले जनाएको छ । औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ ।

लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघको आग्रह छ । सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनःनिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुनःनिर्माण गर्न सक्ने अवस्था छैन ।

राज्यको प्रमुख आयस्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भयमुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गरिनुपर्ने विज्ञप्तीमार्फत जनाइएको छ । अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य रहेको परिसंघले उल्लेख गरेको छ ।

You might also like

Comments are closed.