मान्म । विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा चार करोड रुपैयाँ लागतमा १ सय १ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १ सय १ घर निर्माण हुने भएका हुन् ।
विसं २०७७ मा आएको बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २ सय ६ घरपरिवार विस्थापित भएका थिए । विस्थापित भएकामध्ये आर्थिक वर्षमा एक करोड ७० लाख रुपैयाँ लागतमा ५५ घर निर्माण गरिएका र थप १ सय १ घर निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिइन् । “गत आवमा कर्णाली प्रदेश सरकारको सहयोगमा ५५ घर निर्माण गरेर एकीकृत बस्ती बसालेका छौँ”, उनले भनिन्, “थप त्यही ठाउँमा चालु आवमा १ सय १ घर निर्माण हुनेछन् ।”
नमूना बस्तीमा ४० लाख रुपैयाँ विद्यालय भवन निर्माण हुने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २६ लाख रुपैयाँ लागतमा विद्यालयको फिल्ड निर्माण गरिने उपाध्यक्ष बुढाले बताइन् । “हामीले नमूना बस्तीमा ५५ घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छौँ । खानेपानी, विद्यालय निर्माणलगायत भौतिक पूर्वाधारका संरचना निर्माण गरिसकेका छौँ”, उनले भनिन्, “बस्ती पुनःनिर्माणको कामलाई यथाशीघ्र बढाई समयमै काम सम्पन्न गर्ने गरी कामको थालनी भएको छ ।”
गाउँपालिकाभरि बाढीपहिराबाट पूर्णरूपमा क्षति भएका घरको पुनःनिर्माणका काम थालनी गरिने त्यसका लागि वडा कार्यालयमार्फत लगत सङ्कलन भइरहेको उपाध्यक्ष बुढाले जानकारी दिइन् । “हामीले पूर्णरूपमा क्षति भएका घरको गाउँपालिकाले १० प्रतिशत लगानी गर्ने र बाँकी सङ्घीय सरकारसँग सहयोगका लागि पहल गर्ने योजना छ ।” उनले भनिन्, “त्यसका जिल्ला प्रशासन कार्यालयमार्फत अहिले पहल थालिएको छ ।”
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका कालिकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र विपद् व्यवस्थापन समितिका अन्य पदाधिकारीले बाढीपहिरो पीडितसँग भेटघाट तथा गत आवमा बनेका घरको अनुगमन साथै नयाँ बन्ने घर निर्माणका लागि समुदायसँग भेटघाट गरिएको उपाध्यक्ष बुढाले जानकारी दिइन् ।
Comments are closed.