काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार ४ सय ५१ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका संक्रमितको सङ्ख्या आठ लाख २३ हजार ५ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको सङ्ख्या ९५ हजार ७ सय १ पुगेको छ । पछिल्लो समय थप ३ सय २९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार ९ सय पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट दुई जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय तीन लाख ३७ हजार १ सय ७२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या छ हजार १ सय २५ छ । हाल होम आइसोलेसनमा पाँच हजार ८ सय ३३, संस्थागत आइसोलेसनमा २ सय ७२, सघन उपचार कक्षमा १ सय २१ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।
Comments are closed.