थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सोमबारभन्दा तीन हजार ५ सय २४ जनाले बढी हो । सोमबार देशभर छ हजार ७ सय ३४ जना नयाँ संक्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८ सय ७२ पीसीआर र चार हजार ९ सय ५६ एन्टिजीन विधि गरी कूल २२ हजार ८ सय २८ जनाको नमूना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १७ हजार ५ सय ४७ पुगेको छ । यो दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ६८ हजार २ सय १५ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा एक लाख तीन हजार ९ सय ८३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । यसरी पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ३६ हजार १ सय २० र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९६ हजार दुई पुगेको छ । कूलमा सङक्रमण दर १७ दशमलव दुई प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १ सय ४८ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय २४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।

हाल भेन्टेलेटरमा २८ र आइसियुमा १ सय ५१ जना रहेका छन् भने होम आइसोलेसनमा ३७ हजार ८ सय २६, संस्थागत आइसोलेसनमा एक हजार २ सय १८ र क्वारेन्टिनमा १ सय जना रहेका छन् ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा १७ हजार ७ सय ९, ललितपुरमा चार हजार ४ सय ७१ र भक्तपुरमा दुई हजार ३ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.