१ हजार ५६२ जना संक्रमित थपिए, १९ जनाको निधन

काठमाडौं । मंगलबार एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त संख्या संक्रमण देखिएको हो । नेपालमा संक्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ ।

हाल सक्रिय संक्रमित २६ हजार २०२ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै आज एक हजार ५८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ संक्रमति संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना संक्रमणबाट निधन हुने गरेको छ ।

हाल ४५३ सघन उपचार कक्ष (आइसियु), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...