भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह बिरुद्ध १८ लाख ७७ हजार बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो ।

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध पाँच लाख ५० हजार रुपैयाँ र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध एक लाख ५० हजार रुपैयाँ, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि आठ लाख ८७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गरिएको छ ।

यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध एक लाख १५ हजार रुपैयाँ र अशोक सिंह विरुद्ध २५ हजार रुपैयाँ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

सेवाग्राहीसँग आठ हजार रुपैयाँ घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेल विरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.