काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालत बन्द रहनेछ ।
सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आइतबार बन्द हुने भएको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भई अदालतको न्यायाधीश भएर काम गदै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए । स्व. शर्माको एक छोरा एक छोरी छन् ।
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शर्माको निधनप्रति दुःख व्यक्त गरी चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
Comments are closed.