काठमाडौं । बुधबार देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ संक्रमित सँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
अहिले सक्रिय संक्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा सङ्क्रमणदर १९.२ प्रतिशत रहेको जानकारी दिए । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा संक्रमण भइरहेको छ ।
स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए
आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या एक हजार ४७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार ४०२ घर फर्किएका छन् । यस्तै आज ३० जनाको संक्रमणका कारणले निधन भएको छ । योसँगै नौ हजार ६३७ जना संक्रमणका कारणले निधन भएका छन् । प्रति १० लाख जनसङ्ख्यामा ३२४.८ जनाको निधन भएको छ ।
उनका अनुसार २४ हजार ३४० जना होम आइसोलेशन, दुई हजार ४९२ जना संस्थागत आइसोलेशन, ६२७ जना सघन उपचार कक्ष र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।
काठमाडौं उपत्यकामा ६९७ जना थपिए
काठमाडौं उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौंमा ४९० र भक्तपुरमा ७९ जना संक्रमण थपिएका हुन् । उनले अझ पनि धेरै व्यक्ति संक्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताए । “जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ”, उनले भने, “त्यसैले संक्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।”
सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताए । उनले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गरे । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै संक्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
उनले अहिले पनि अस्पतालमा कोभिड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गरे । उनले कोभिड–१९ संक्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गरे ।
Comments are closed.