डुडुवा गाउँपलिकामा बजेट पारित नहुँदा सेवा प्रभावित

काठमाडौं । बाँके डुडुवा गाउँपलिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सम्पूर्ण सेवा ठप्प भएको छ, भने कर्मचारीले तलब भत्तासमेत पाउन सकेका छैनन ।

चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले पाएका छैनन्, भने अन्य सबै विषयगत सेवासमेत प्रभावित भएको छ । अहिले स्वास्थ्यचौकीमा आवश्यक औषधि छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषिलगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

स्वास्थ्यचौका प्रमुख हेमन्त शर्माले भने, “राजनीतिक विवादमा हामी मारमा परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधिले यो समस्या बुझ्नुभएको छैन । ”

jutta mela

समयमा गाउँसभा नभएर सङ्घीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने जनाइएको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।

पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत घरघरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताए । उनका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन नसकिएको अवस्था रहेको छ । स्टोरमा रहेका सबै औषधि सकिएको छ, कसरी उपचार गर्नमा समस्या भएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या सम्बोधन गर्न माग गरे ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलले अवरोधले गाउँसभा हुन नसकेको आरोप लगाए । उनले भने, “विपक्षी दलले गाउँपालिकालाई बन्धक बनाएका छन् । स्वास्थ्यचौकीमा सिटामोल औषधि छैन, कर्मचारीले तलबभत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ,यसको जिम्मेवारी कसले लिने ?”

नेकपा (एमाले)का डुडुवा गाउँपालिका-६ का वडाध्यक्ष मोहनराम मिश्रले आफ्नो एजेण्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरे । उनले पालिकामा कार्यरत करार सेवाका कर्मचारीको व्यवस्थापन, केही ऐन र कानुन संशोधनको प्रक्रिया गरेमा मात्र सहमति गर्ने बताए ।

गाउँसभाको विषयमा पालिकाले चार पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थित भएर छलफल प्रक्रियामै सहभागी नभएकाले सभा अन्यौलमा परेको जनाइएको छ ।गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका रहेको र कूल छ वटा वडामा एक वडामा कांग्रेस, तीन वटा वडामा जनता समाजवादी पार्टी (जसपा) र दुई वटा वडामा एमाले विजयी भएको थियो । जसपा र एमालेको बहुमतमा कार्यपालिका गठन गरिएको थियो ।

You might also like

Comments are closed.