दूधको आन्तरिक खपत बढाउने अभियानमा नेपाल डेरी एसोसिएसन

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध र दुग्धजन्य पदार्थको आन्तरिक खपत बढाउने अभियान सञ्चालन गरिरहेको छ । यसैक्रममा एसोसिएसनले खेलाडीहरुलाई खानाको डाइटमा दूध तथा दुग्ध पदार्थ निवार्य समावेश गर्न अनुरोध गरेको छ ।

खेलकुद मन्त्री, सचीव, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, सबै प्रदेश खेलकुद परिषदका सदस्य सचीवहरु, सबै जिल्ला खेलकुद समितिका अध्यक्षहरु र सबै स्थानीय तहका शिक्षा तथा खेलकुद शाखाका प्रमुखहरुलाई सम्बोधन गर्दै एसोसिएसनले खेलाडीहरुको डाइटमा दूधलाई अनिवार्य गर्न आग्रह गरेको हो ।

‘दूध एक पूर्ण पौष्टिक आहार हो । बालकदेखि वृद्धसम्म जस्तोसुकै अवस्थामा पनि सहजै सेवन गर्न मिल्ने अत्यन्तै पौष्टिक तत्वले भरिएको पदार्थ हो भन्ने कुरा तपाईं हामी सबैलाई थाहा नै भएको विषय हो । त्यसैले सबै खेलाडीहरुलाई अनिवार्य रुपमा उनीहरुले खाने खानामा दूध तथा दुग्ध पदार्थ समाबेश गराइदिनुहुन अनुरोध गरिन्छ,’ एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल नेपाली दूधको खपत पनि बढ्ने र खेलाडीहरुका लागि दूध राम्रो पौष्टिक आहार पनि हुने बताउँछन् । ‘यस वर्ष दुग्ध क्षेत्रमा कहिल्यै नभोगेको नसुनेको ठूलो समस्या भोग्नु प¥यो । विगत वर्षहरूमा फागुनदेखि डेरी सेक्टरमा सिजन सुरु हुन्थ्यो र हाम्रो देशमा उत्पादन भएको दूधले नपुगेर डेरीहरूलाई बजारको माग पु¥याउन हम्मे हम्मे पर्दथ्यो । यस वर्ष भने त्यसको ठिक विपरीत सोही सिजन फागुनदेखि नै बजारमा दूध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुन थाल्यो,’ उनलेभने ।

उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी आदि अनेकौं कारण भएको बताइएको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले पनि खपत कम भएको दाहालले बताए ।

‘अर्को कुरा यहाँ दूधको मूल्य बढ्दा भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट यता दूध तथा दुग्ध पदार्थ आयात पनि अर्को कारण बन्यो । यी यावत कारणले गर्दा यहाँ खपत कम हुन गई मिल्क होलिडे रोक्न हाम्रो देशका डेरी उद्योगहरूले किसानको दूध निरन्तर खरिद गरी पाउडर दूध बनाएर राख्नु पर्ने बाध्यता बन्यो । पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगहरूमा करिव बटर र धुलो दूध गरि ५ अर्ब रकम बराबरको स्टक भएर धेरै डेरी उद्योगहरूले किसानको भुक्तानी समयमै गर्न सकेका छैन,’ एसोेसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले किसानलाई अत्यन्तै कठिन भएको छ । समयमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको हो ।’

नेपालमा रहेका किसान र उद्योग बचाउनु हामी आम नेपाली सबैको कर्तव्य भएको एसोसिएसनको भनाइ छ । ‘त्यसैले सबै मिलि दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी नेपालका किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदाय सबैलाई नेपाल डेरी एसोसिएसन विनम्र अनुरोध गर्दछ । साथै सहकारी लगायत अन्य संघ संस्थाको साधारणसभा लगायतका अन्य कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो दिँदा पनि दूध तथा दुग्ध पदार्थ घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवा आदि नै प्रयोग गरि आम किसान र उद्योगलाई सहयोग पु¥याउन एसोसिएसन आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

दूधको आन्तरिक खपत बढाउँदै दूध जन्य पदार्थलाई विदेशमा निर्यात बढाउनसमेत राज्यले पहल गर्नुपर्ने अध्यक्ष दाहाल बताउँछन् ।

You might also like

Comments are closed.