सभापति देउवाद्वारा अर्को सरकार गठनको प्रक्रिया अघि बढाउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमा उनले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राखेको प्रस्ताव पारित नहुने जनाउँदै सो आह्वान गरे ।

जनताले गत निर्वाचनमा स्पष्ट बहुमत दिए पनि सरकार र सरकारका प्रमुख प्रधानमन्त्री ओलीले जनता सामु गरेका वाचा बिर्सिएको तथा अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको आरोप सभापति देउवाले लगाए । पूर्वप्रधानमन्त्री देउवाले भने, “सुशासनको प्रत्याभूति दिन नसकेको, देशको स्वाभिमान मर्यादा र गरिमा बढाउन नसकेको, कोभिड–१९ को रोगथाम र नियन्त्रणमा सर्वदा असफल भएको, शान्तिसुरक्षा कायम गर्न नसकेको र संविधान, विधि र पद्धतिलाई नै समाप्त गरी संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै आँच पुग्ने कार्य गरेको हुँदा अहिले मुलुकमा जटिल अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीजी आफैँले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नु पर्ने अवस्थामा पुग्नुभएको छ ।”

संविधान निर्माण भइसकेपछिको पहिलो संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरेर वर्तमान सरकारको गठन भए पनि आज तीन वर्षमा नै प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आउनामा को जिम्मेवार छ भन्ने प्रश्न गर्दै उनले यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाए ।

jutta mela

आफूहरुले प्रतिपक्षका रुपमा सरकारलाई हमेशा रचनात्मक र सहयोगी भूमिका निर्वाह गरेको जनाउँदै कार्यकारी प्रमुख प्रधानमन्त्रीले अरुमाथि दोष र गुनासा थुपारेर जिम्मेवारीबाट भाग्न नपाइने उनको भनाइ थियो ।
मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम हुन नसकेको, कोभिड–१९ को भयावह अवस्थामा अन्तर्राष्ट्रिय संघसंस्था र मित्र राष्ट्रबाट रोकथाम र नियन्त्रण गर्न र नेपाली नागरिकलाई बचाउन आवश्यक सामग्री, औषधि खोपलगायत प्राप्त हुन सक्ने सहयोग पनि सरकारले लिन नसकेको आरोप कांग्रेस संसदीय दलका नेता देउवाले लगाए ।
अस्पतालमा शय्या, सघन उपचार कक्ष र भेन्टिलेटर नपाएर नागरिकले ज्यान गुमाउनु परेको तथा कोरोनाको महामारी प्रारम्भ भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको उनको आरोप थियो ।

नेता देउवाले भने, “हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिबद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटकपटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन । विज्ञहरुले कोभिड–१९ को पटकपटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनी दिएको चेतावनीलाई सरकारले सुनेन । समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ । यस्तो अवस्था आउनमा सरकार जिम्मेवार छ ।” जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध भएको आरोप उनले लगाए ।

बितेका तीन वर्षमा देशमा भ्रष्टाचार मौलाएर गएको र ठूलाठूला काण्ड भएको, सरकारका बहुमूल्य जग्गा र सम्पत्ति विनामूल्य व्यापारिक घरानाहरुसँगको मिलोमतोमा भागका नाममा दिएको, मन्त्री स्वयं कमिशनका खेलमा लागेका घटना सार्वजनिक भएको, कोभिड–१९ को रोकथाम र नियन्त्रणसंँग सम्बन्धित सामग्री, औषधि र खोप खरीदको अनियमिता सतहमा आएको र राष्ट्रिय गौरवका महत्वपूर्ण योजना आर्थिक अनियमितता र भ्रष्टाचारका कारण अलपत्र परेको उनको आरोप थियो ।

You might also like

Comments are closed.