मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : देउवा

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदायले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताए ।

“ज्यापु समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उनले भने, “यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।”

ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे । नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ ।

“राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने । दिवसले काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक, भौतिक सुविधाका बीचमा पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सरहानीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापु समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापु संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको बताए  । सो कोषबाट प्रत्येक वर्ष राष्ट्रिय ज्यापु दिवस मनाउनेलगायतका ज्यापु समुदायको संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने दिशामा विभिन्न प्रशंसनीय कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सीमित साधन, स्रोतका बाबजुद कोषले ज्यापु संस्कृतिको संरक्षण र संवद्र्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे । । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकरात्मक रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले यस दिवसले नयाँ जोश र उत्साहका साथ ज्यापु समुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अन्य समुदायसँग सहकार्य गर्दै अघि बढ्न तथा मुलुकमा राष्ट्रिय एकताको भावनालाई थप सुदृढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरे । रासस

 

You might also like

Comments are closed.