काठमाडौं । नेकपा एमालेका सांसद् देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेले आज नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारूढ दलको साझा उम्मेदवार रहेका घिमिरेलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका थिए भने, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए ।
प्रतिनिधि सभाका सभामुखको चुनाव माघ ५ गते बिहीवार (भोलि) हुँदैछ। प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ।
सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ। घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद् बनेका थिए।
Comments are closed.