पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै उनले महानगरले त्यो अभियानलाई निरन्तरता दिने उद्घोष गरे ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनमा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत बुधबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले स्टार्ट अप बिजनेसको लागि महानगरले विशेष कार्यक्रम अगाडि सारेको जानकारी दिए ।
विभिन्न २४ वटा नवप्रवर्तनका कार्यक्रमलाई ५० हजारका दरले पुरस्कृत गरेको महानगरले परियोजना हेरेर २ लाख ५० हजारसम्मको कर्जा प्रवाह गर्ने योजना अगाडि बढाएको बताए । मेयर आचार्यले पोखराको निजी क्षेत्रलाई साथ लिएर नै समृद्धिको यात्रा तय गर्ने प्रतिवद्धता पनि जनाए । उनले सहरी गरीब र बेरोजगारको संख्या निक्र्यौल गरेसँगै उनीहरुको लागि आवश्यक पर्ने तालिम र पूँजीको व्यवस्थापन गरिने जनाउँदै आगामी ३ महिनाभित्र देखिने गरी रोजगारी प्रदान गर्ने जिकिर गरे ।
आउँदा दिनमा अनावश्यक कार्यक्रममा सहभागी नहुने तथा पारदर्शीता र सुशासनको लागि क्रियाशिल रहने बताउँदै उनले भने,‘चुनावअघि सार्वजनिक गरिएको घोषणापत्रलाई मैले बिर्सेबको छैन,पहिलो वर्ष भएकाले काम गर्न ढिला भने भएको हो ।’
सोही कार्यक्रममा बोल्दै उनले पोखराको फोहर व्यवस्थापनमा स्थानीयहरुले नसघाएको गुनासो पनि गरे । आउँदो केही दिनमै पोखराको फोहर ल्याण्डफिल साइटमा नफालिने उद्घोष गरेका उनले स्थानीयबाट अवरोध हुनसक्ने भन्दै उनले ठाउँबारे भने केही बताएनन् ।
पोखरा १४ मा रहेको ल्याण्डफिल साइटमा फोहर विसर्जन नगर्ने प्रतिवद्धतासहित त्यहाँको फोहर पुर्न थालेको महानगर यतिबेला पोखराको वडा नम्बर २२ मा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । तर, स्थानीयवासीबाट भने त्यसको विरोध भएको छ ।
मेयरलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्वागत गरेका थिए । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक मेलाको स्टल अवलोकनपछि मेयर आचार्यले स्थानीय उत्पादन प्रवद्र्धनको लागि गरिएका प्रयासहरुको प्रशंसा गरे । मेला मंसिर २५ गतेसम्म जारी रहनेछ । संघका अध्यक्ष प्रजापतिले मेला अवलोनकको लागि आम नागरिकलाई आह्वान गरेका छन् ।








Comments are closed.