पोखरामा करको दर घटाउने मेयर आचार्यको उद्घोष

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छे« गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित गरेको छ।

संघले कास्कीका सबै पालिकाका प्रमुख र उपप्रमुख तथा पोखराका ३३ वटै वडाका वडाध्यक्षहरुलाई सम्मान गरेको हो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निजी क्षेत्रका एजेण्डाहरुबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्रहरु पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वकार्यसमिति सदस्यसमेत रहेका पोखराका मेयर धनराज आचार्यले पोखरा महानगरको सबैभन्दा ठूलो चुनौती नै सुशासन कायम गर्नु रहेको बताए । उनले आउँदा केही दिनभित्रै महानगरले एउटै ढोकाबाट सबै सुविधा दिने र सुशासनका सबै सूचांकहरु पालना गरिने उद्घोष गरे ।

करका दरहरु अव्यवहारिक र चर्को भएको व्यवसायीहरुको गुनासो सुनेपछि उनले करको दर परिवर्तन गर्न आफू तयार रहेको उद्घोष गरे । उनले नागरिकको दैनिक जीवन सजिलो र सस्तो बनाउने योजना रहेको बताउँदै चुनावी उपक्रममा गरिएका प्रतिवद्धताहरु पूरा गरिने जिकिर गरे ।

पोखराको ट्राफिक व्यवस्थापनको योजना बनिरहेको सुनाउँदै उनले वरपरका गाउँपालिकाको विकासमा पनि महानगरले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । केही वर्षयता पोखरा महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध तथा दाताहरुसँगको सम्बन्ध खासै राम्रो नभएको जिकिर गर्दै उनले बिहीबार नै १२ देशका राजदूतहरु पोखरा आउँदै गरेको जानकारी दिए । उनले तालचोकदेखि बेगनाससम्मको नमूना सडकको टेण्डर खोल्ने तयारी भएको पनि जानकारी दिए ।

त्यस्तै, मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादीले कृषि र पर्यटनको माध्यमबाट समृद्धिको परिकल्पना गरेको बताउँदै सो क्षेत्रको कृषि र पर्यटनमा लगानी गर्न व्यवसायीलाई आग्रह गरे । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भूमि बैंक स्थापना गरेको र त्यही बैंकमार्फत कृषि कर्म गर्न चाहने व्यवसायीलाई जग्गा उपलब्ध गराउने जनाए ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरामा बनाउने भनिएको चक्रपथलाई नै ट्राम चल्ने खालको बनाउनु पर्नेमा जोड दिए । ट्राम भनेको सहरी क्षेत्रमा चल्ने रेल नै हो । संघीय सरकारको बजेट वक्तव्यमा पोखरासहितका नगरमा ट्राम संचालनको सम्भाव्यता खोजिने उल्लेख गरिएको छ ।

मादी करिडरले सो क्षेत्रको सम्भावनाको ढोका खोल्ने भएकाले करिडर निर्माणमा सहजीकरण गर्न जनप्रतिनिधिहरुसँग आग्रह गरे । पोखरा महानगर सुशासनमा अब्बल बन्नुपर्ने, यहाँको प्रदूषण घटाउनेतिर लाग्नुपर्ने तथा आर्थिक सामथ्र्य बढाउने काम हुनुपर्ने उनको जोड थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरामा सम्पत्ति कर अन्य पालिकाको भन्दा महँगो भएको गुनासो गरे । उनले लगानी मैत्री वातावरण निर्माण,कृषिको व्यावसायिकरणमा लाग्न जनप्रतिनिधिहरुलाई सुझाए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा महानगरले एउटै ढोकाबाट कर तिर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । फुटपाथको अनधिकृत व्यवसाय रोकिनुपर्ने, ट्राफिक व्यवस्थापन हुनुपर्ने, महानगरले प्रविधिमा आधारित रहेर नागरिकलाई सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो।

lcci
You might also like

Comments are closed.