ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौं ।धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको छ ।

बोर्डमा बिहीबार केही आर्थिक पत्रकारसँग कुरा गर्दै अध्यक्ष भीष्मराज ढुङ्गानाले सो महत्वपूर्ण दुई विषयलाई एक साताभित्र टुङ्ग्याउने गरी काम भइरहेको जानकारी दिए । पुँजीबजार देशको अर्थतन्त्रको ऐना भएको बताउँदै उनले धितोपत्र बजार सूचनामा आधारित बजार भएको दाबी गरे । उनले भने, “सही सूचना सम्प्रेषण भएमात्र बजारको दिगो विकास हुन्छ, यसअर्थमा पत्रकारको भूमिका ठूलो हुन्छ ।”

सो अवसरमा अध्यक्ष ढुङ्गानाले अङ्ग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै ब्रोकर कमिसन घटाएर लाने तयारी भएको जानकारी दिए । हाल धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा ०.६ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले रु ५० हजारसम्मको सेयर खरिद बिक्री गर्दा ०.६ प्रतिशत र रु ५० हजारदेखि रु पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै रु पाँच लाखदेखि रु २० लाखसम्मको कारोबारमा ०.५ प्रतिशत, रु २० लाखदेखि रु एक करोडसम्मको कारोबारमा ०।४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०।४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ ।

लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महिनाभित्र अनुमति पाउने भएको छ । बोर्डका अध्यक्ष ढुङ्गानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र अनुमतिपत्र प्रदान गर्ने बताए ।

You might also like

Comments are closed.