‘लायन्सको ‘सर्भिस’ अभियानबाट नेपालले अझै धेरै फाइदा लिन सक्छ’

लायन ध्रुव थापा, पास्ट डिष्ट्रिक्ट गभर्नर

नेपालमा लायन्सको आधा दशकभन्दा लामो इतिहास छ । सामाजिक क्षेत्रमा लायन्स क्लब्स इन्टरनेशनलले विभिन्न डिष्ट्रिक्ट र तिनका क्लब तथा सदस्यमार्फत धेरै सामाजिक काम गर्दै आइरहेको पाइन्छ । लायन्स क्लब्स इन्टरनेशनल ३२५ बी १ का गभर्नर समेत भइसकेका ध्रुव थापा अहिले लायन्स क्लब्स इन्टरनेशनल ३२५ जे लाई अभिभावकत्व प्रदान गर्दै आएका छन् । उनी नेपालका सबै डिष्ट्रिक्ट उत्तिकै अब्बल र सक्षम रहेको बताउँछन् । नेपालमा लायन्सको भूमिका र प्रभावकारीता अझै बढ्ने उनको दाबी छ । नेपालमा लायन्सका गतिविधि साथै ३२५ जे का सन्दर्भमा आर्थिक आवाजले थापासँग गरेको कुराकानी :

लायन्स क्लब्स इन्टरनेशनल ३२५ जे को भूमिकालाई कसरी हेर्नुभएको छ ?

पहिले ४ ओटा डिष्ट्रिक्ट थिए अहिले एक वर्षको अवधिमा १५ ओटा डिष्ट्रिक्टले काम गर्दै आएका छन् । सबै डिष्ट्रिक्ट सकारात्मक प्रतिस्पर्धाका साथ अगाडि बढिरहेका छन् । सर्भिस फेलोसिप, लिडरसिपको लागि हामीले प्रतिश्पर्धा गर्दै आएका छौं । सबै डिष्ट्रिक्टका काम उत्तिकै प्रभावकारी र अब्बल छन् । त्यसमध्ये पनि हाम्रो ३२५ जे लाई अहिलेको गभर्नर ज्यूले सर्भिस, व्यवस्थापन, अनुशासन लगायत उत्कृष्ट डिष्ट्रिक्टको रूपमा अगाडि बढाउनु भयो । गर्न त सबै सदस्यले मिलेर काम गर्ने हो । तर, लिडरसिप कसको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । उहाँले सोचेभन्दा पनि धेरै राम्रो काम गर्नुभयो ।

धेरैलाई एकखालकोे डर थियो, डिष्ट्रिक्टले काम गर्न सक्छ, सक्दैन, कसरी अगाडि बढ्ने हो भन्ने खालको चिन्ता सबैमा थियो । म अगाडि नै डिष्ट्रिक्ट गभर्नर भइसकेको कारण पनि मेरो उपस्थितिलाई पनि महत्वका साथ हेरिएको थियो । धेरैको अपेक्षालाई उहाँले पूरा गर्नुभएको छ । गभर्नर ध्रुव श्रेष्ठ ३२५ जे को पहिलो गभर्नर हुनुहुन्छ । अब आउने गभर्नरलाई पनि उहाँका कार्यले मार्गनिर्देशन दिन्छ ।

डिष्ट्रिक्ट अब कसरी अगाडि बढ्नुपर्ला ?

नेपालमा लायन्सको इतिहास हेर्दा फरक फरक विशेषता भेट्न सकिन्छ । गएको ५–७ वर्ष हामीले सदस्य तथा क्लबको विस्तारलाई बढी प्राथमिकता दिँदै आएको पाइन्छ । त्यस अगाडि सर्भिसलाई बढी प्राथमिकता दिएको पाइन्थ्यो । अहिले नेपालमा ४ बाट १५ डिस्ट्रिक्ट बनेका छन् । थोरै सदस्य, थोरै क्लबसहित हामी छौं । हाम्रो मात्र होइन नेपालका डिष्ट्रिक्टलाई कसरी स्थायीत्व दिने भन्ने कुरा नै अहिलेको प्राथमिकतामा पर्छ जस्तो लाग्छ । डिष्ट्रिक्टलाई एउटा अनुशासनमा हिडाउनु पर्नेछ । धेरै साथीहरूमा लायन्स प्रति एक खालको फ्रस्टेसन पनि देखिएको छ । धेरै समय दिनुपर्ने, डोनेसन दिनुपर्ने भन्ने कुरा भइरहेको छ । विगतमा लायन्समा केही विसंगति पनि आए, अब त्यसलाई सुधारेर अगाडि बढ्नुपर्नेछ । हाम्रो मात्रै कुरा होइन, २–४ वर्ष सबै डिष्ट्रिक्टलाई व्यवस्थित गरेर लैजानुपर्नेछ । सदस्यता विस्तार क्लब विस्तार त त्यसपछि पनि विस्तारै हुँदै पनि जान्छ । हाम्रो डिष्ट्रिक्टमा क्लब तथा सदस्यले प्रभावकारी ढंगले काम गर्दै आउनुभएको छ, त्यसको निरन्तरता न्यूनतम योजनामा पर्नुपर्छ ।

यहाँ आफै लायन्सको ठूलो फोरमलाई लिड गरेर आउनुभएको हो, अहिले डिष्ट्रिक्ट टुक्रिएका छन्, लायन्सको साख सुरक्षित गर्न कस्ता चुनौती देख्नु भएको छ ?

हामीले ठूलो डिष्ट्रिक्टको रूपमा धेरै सदस्य र क्लबलाई लिड गरेर आएका हौं । त्यो समयको व्यवस्थापन र अहिलेको व्यवस्थापनमा फरक छ अहिले थोरै मेम्वर र क्लब भएको कारण पनि सहज होला । पहिले बोर्डकै सदस्य समेत चिन्न नसकिने अवस्था थियो तर अहिले हरेक क्लबसँग सिधै सम्बन्ध विस्तार र समन्वय गर्न सकिने अवस्था छ, यसले हरेक कामको परिणाम दिन पक्कै पनि सहज हुन्छ । लायन्सको इतिहासमा ४ ओटाबाट १५ ओटा डिष्ट्रिक्ट बनाउन स्वीकृती पाएको पहिलो पटक हो । नेपालमा लायन्सको प्रभावकारी इतिहास भएका कारण पनि स्वीकृति मिलेको हो । लायन्स अन्तर्राष्ट्रियमा स्थापित छबिलाई कायम राख्ने चुनौती र जिम्मेवारी अबका गभर्नरहरूमा छ । व्यवस्थापन तथा लिडर प्रति आम सदस्यको बुझाइ पनि फरक आएको छ । लिडरसिपमा परिवारवाद र अन्य विसंगति हावी भएको भन्ने लगायत आरोप लाग्ने गरेको छ, यसलाई सुधार्नुपर्नेछ । व्यवस्थापनलाई ध्यान दिएको अवस्थामा अहिले धेरै सहज हुने मेरो अनुमान छ ।

अहिलेको अवस्थामा सर्भिसको क्षेत्रमा कस्तो प्रभाव रहला ?

डिष्ट्रिक्ट टुक्रिएर जाँदा नेपाललाई अझै धेरै फाइदा पुग्छ जस्तो मलाई लाग्छ । नेपालका डिष्ट्रिक्टको लागि लायन्स अन्तर्राष्ट्रियको खर्च अझै बढ्छ । पहिले ४ ओटा डिष्ट्रिक्टले परियोजना माग्थे तर अहिले १५ डिष्ट्रिक्टले परियोजना माग्छन् । अहिले पनि धेरै कार्यक्रम आउँदैछन् । यसले नेपालको लागि धेरै फाइदा पुग्ने देखिन्छ ।

डिष्ट्रिक्टबीच प्रतिस्पर्धा अथवा समन्वय के छ ?

डिष्ट्रिक्टबीच समन्वय गर्दै प्रतिस्पर्धा गर्ने हो । प्रतिश्पर्धा पनि कसले धेरै सर्भिस गर्ने, कसले धेरै उत्कृष्ट काम गर्ने भन्ने कुरामा प्रतिश्पर्धा हुन्छ । नेपालमा कसले धेरै प्रोजेक्ट ल्याउने भन्ने कुरामा प्रतिस्पर्धा हुन्छ । सहकार्य गर्ने कुरामा नेपालमा मात्र होइन, संसारभरका लायन्सको सहकार्य हुने हो । नेपालको हकमा पनि त्यही भएको छ । हामी लिडरहरू बसेर छलफल गर्दै आएका छौं । डिष्ट्रिक्ट धेरै भइसकेपछि अब लिडरसिपमा जाने कुरामा पनि त्यति धेरै प्रतिश्पर्धा नहोला । यी सबै कुरा हेर्दा नेपालको लायनिजम सहज अवस्थामा छ भन्ने लाग्छ ।

You might also like

Comments are closed.