इभिमा आकर्षण बढेको छ, एक्स्पोले इभीको अझै प्रवर्द्धन गर्नेछ : थापा

ध्रुवबहादुर थापा, अध्यक्ष, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल

नाडाको आयोजनामा असोज ६ देखि ४ दिनसम्म इभी एक्स्पो हुँदैछ । कोभिडका कारण बिगत २ वर्षसम्म नाडा अटो शो हुन सकेन । यो वर्ष पनि सवारी साधन आयातमा गरिएको बन्देजका कारण पुरानै शैलीमा नाडा शो हुन सकेन । नाडाले विद्युतीय सवारी प्रवर्द्धनको लक्ष्यसहित यसपटक इभी एक्स्पो गर्दैछ । यसै सन्दर्भमा नाडाका अध्यक्ष ध्रुवबहादुर थापासँग गरिएको कुराकानी :

कोभिडका कारण बिगतका २ वर्ष अटो शो हुन सकेन । अहिले इभि एक्स्पो आयोजना गर्नुभएको छ । यसको उदेश्य के हो ?

विगतका अटो शोमा सवै किसिमका भेहिकल समेटिएका हुन्थे । कोभिडका कारण लगातार २ वर्ष अटो शो आयोजना गर्ने परिस्थिति रहेन । अहिले हामीले इलेक्ट्रिक भेहिकललाई प्राथमकिता दिएर इभि एक्स्पो आयोजना गरेका हौं । एक्स्पोले इलेक्ट्रिक भेहिकलका बारेमा आउने गरेका नकारात्मक टिप्पणी तथा प्रतिक्रियालाई चिरेर यसका बारेमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । अटो व्यवसायमा कतिले इभि भित्र्याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेको अवस्था छ । एक्स्पोमा सबै कम्पनी तथा ब्राण्डका इलेक्ट्रिक भेहिकल एकै स्थानमा राखिएका छन् । जसका कारण ग्राहकलाई बुझ्न तथा छनोट गर्न पनि सहज हुनेछ । इभि एक्स्पोको मुख्य उद्देश्य भनेको यसका वारेमा ग्राहक तथा नागरिकलाई धेरै भन्दा धेरै जानकारी दिनु हो । अहिले इभिप्रति ग्राहकको आकर्षण पनि बढेको पाइन्छ भने एक्स्पोमा पनि धेरै व्यक्ति सहभागी हुने हामीले अनुमान गरेका छौं ।

jutta mela

एक्स्पोमा के–कस्ता गतिविधि सञ्चालन हुन्छन् ?

हामीले एक्स्पोसँगै इभिको नविनतम प्रविधिहरुको प्रदर्शनी गर्नेछौं । ३ दिनसम्म विभिन्न सेमिनार, गोष्ठी लगायतका कार्यक्रम पनि गर्छौं । यसले इभिका वारेमा बुझ्न दर्शक तथा ग्राहकलाई सहज हुनेछ । इभि कस्तो हो ? के हो ? कुन टेक्नोलोजी अन्तर्गत चल्छ ? यसको भविष्य के छ ? फाइनान्सिङ पार्ट के छन् ? सबै विषयमा हामी छलफल गर्छौं । इभिको विषय नबुझेको भए एक्स्पोमा आएर बुझ्न सक्नुहुन्छ । खरिद तथा बुकिङका लागि पनि एक्स्पो अवसर बन्न सक्छ ।

एक्स्पोमा कति स्टल छन् ?

शुरुमा हामीले ३० देखि ३५ स्टल मात्र रहने अनुमान गरेका थियौं । तर, व्यवसायीले यसलाई एक अवसरको रुपमा लिनुभयो । धेरैले सहभागी हुने इच्छा देखाउनुभयो । अहिले करिव ५३ स्टल छन् । यसले पनि व्यवसायी उत्साही छन् भन्ने देखाउँछ ।

सरकारी क्षेत्रबाट कस्तो सहयोग पाउनुभएको छ ?

सरकार पनि यस विषयमा सकारात्मक नै छ । सरकारले पनि यसलाई प्रमोट गरिरहेको अवस्था छ । हामीले साथ पाएका छौं । इभिको विकासका लागि एक्स्पोले धेरै मद्दत गर्छ । सरकारी निजी सबै क्षेत्रबाट हामीले साथ पाएका छौं ।

तपाईं नाडा अध्यक्ष भएको पनि ६ महिना पुगिसकेको छ । यसबीच अटो व्यवसायमा देखिएको समस्यालाई कसरी हेर्नुभएको छ ?

अटो मोबाइल व्यवसायमा धेरै समस्याहरु सृजना भएका छन् । नेपालमा क्राइसिसको कारण भेहिकलमा बन्देज, अन्य कमर्सियल भेहिकल, मोटर साइकल लगायतमा फाइनान्सिङको समस्या छ । राष्ट्र बैंकले धेरै सीमाहरु तोकेको छ । फाइनान्स, एलसी मार्जिन लगायतमा सीमा तोकेको छ । यस कारण पनि कठिनाई भोग्नुपरेको छ । इलेक्ट्रिक बाहेक अन्य प्राइभेट भेहिकल पुरै व्याण्ड छ । कमर्सियल भेहिकल जुन खुलेका छन् त्यसलाई पनि फाइनान्सका कारण अप्ठेरो परिस्थिथि सृजना भएको छ । कतिपय डिलर पलायन भइसकेका छन् भने कतिपय पलायन हुने अवस्थामा छन् । कर्मचारी बेरोजगार भएका छन् । सरकारले अटो मोबाइल व्यवसायलाई लामो समयसम्म यस्तो परिस्थितिमा लैजानु हुँदैन भन्ने मलाई लाग्छ । अहिले क्रमशः सुधार आउँदै गएको पाइन्छ । अब सहज वातावरण बन्छ कि भन्ने हाम्रो अपेक्षा छ ।

दसैं तिहार अटो व्यवसायका लागि राम्रो समय मानिन्छ, अहिले कस्तो छ परिस्थिति ?
पहिलेको भन्दा अहिले परिस्थिति फरक छ । अहिलेको दसैं तिहारमा निराशाजनक अवस्था छ । पहिलाको तुलनामा अहिले व्यवसाय ५० प्रतिशत पनि छैन । कतिपयको भेहिकल स्टकमा नै छैन भने भएकाहरुको पनि बिक्री छैन ।

सरकारले सवारी साधन आयातमा लगाएको प्रतिवन्धले कस्तो असर पारेको छ ?
सवारी साधन आयातमा लगाइएको प्रतिवन्धले व्यवसायीलाई मात्र होइन देशलाई पनि अप्ठ्यारो बनाएको छ । राजश्वमा सबैभन्दा धेरै योगदान गर्ने क्षेत्र अटोमोबाइल हो । राजस्वमा पनि धेरै कमी आइसकेको विभिन्न तथ्याङले देखाएका छन् । विकास निर्माणका लागि, कर्मचारीलाई तलव खुवाउनका लागि पनि बजेट नपुग्ने अवस्था देशमा सृजना हुनसक्छ । राजस्वको योगदान हेरेर पनि देशले एलसी खोल्नुपर्छ ।

पछिल्लो समय नेपालमा इभिप्रतिको आकर्षण कस्तो छ ?
पछिल्लो समय इभिमा निकै आकर्षण बढेको छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा नै यसको आकर्षण बढिरहेको छ । नेपालको लागि इभि धेरै उपयोगी छ । आफ्नै इन्धन (विद्युत) खपत हुन्छ । प्रदुषण कम गराउनुका साथै अन्य हिसावले पनि धेरै फाइदा छ । तथ्याङ्क हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिव ९ सय प्रतिशत यसको सेल्स देखिन्छ । युरोपियन देशपछि साउथ एसियन तथा अन्य देशको तुलनामा नेपालमा यसको रेसियो धेरै छ । एक्स्पोले नेपालमा इभीलाई अझै बढी प्रवर्द्धन गर्नेमा हामी विश्वस्त छौं ।

You might also like

Comments are closed.