पर्यटनमा प्रशस्त सम्भावना : लगानीमैत्री वातावरणको खाँचो

दीपेन्द्र पहारी
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक आस्थाको केन्द्र र साहसिक क्रियाकलापका लागि विश्वकै चर्चित गन्तव्यहरूमध्ये एक हो । अग्ला शिखर, ऐतिहासिक मठमन्दिर, जैविक विविधता, मौलिक जनजीवन र विविध परम्पराले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको दृष्टिकोणले विशेष बनाएको छ । यस्ता सम्पदालाई व्यवस्थित रूपमा विकास गर्न र त्यसको लाभ राष्ट्रिय अर्थतन्त्रमा रुपान्तरण गर्न पर्यटन क्षेत्रमा रणनीतिक लगानी अपरिहार्य छ । पर्यटन व्यवसाय सँगसँगै सम्बन्धित पूर्वाधार, सेवाप्रवाह, जनशक्ति र प्रविधिको विकासका लागि निजी, सार्वजनिक तथा अन्तर्राष्ट्रिय लगानी आवश्यक देखिन्छ ।

नेपालको पर्यटन क्षेत्रमा लगानीको वित्तीय तथ्यांकमा विगत केही वर्षहरूमा उल्लेखनीय वृद्धि देखिएको छ । विशेष गरी, नेपाल सरकारको ‘नेपाल पर्यटन वर्ष २०२०’को घोषणा पछि, विदेशबाट प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नमा सकारात्मक प्रभाव परेको छ । २०१९ देखि २०२२ सम्म, पर्यटन क्षेत्रमा भएको कुल लगानी लगभग ५ बिलियन अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । २०२५ सम्म पनि पर्यटन क्षेत्रमा प्रशस्त लगानी भित्रिने क्रम जारी छ । यसले पर्यटनको संरचना, नयाँ गन्तव्यको विकास, र सेवाप्रवाहमा सुधार ल्याउन मद्दत पुर्याएको छ ।

पर्यटन व्यवसायसँग सम्बन्धित क्षेत्रमा बैंकिङ र वित्तीय संस्थाको सहकार्य पनि वृद्धि भएको छ, जसले व्यवसायलाई आवश्यक पूँजी जुटाउन सहज बनाएको छ । यद्यपि, विश्वव्यापी महामारीको असरले २०२० र २०२१ को बीचमा पर्यटनमा उल्लेखनीय गिरावट ल्यायो, तर २०२२ देखि उद्योगले पुनः वृद्धि गर्न सुरु गरेको छ । नेपालमा पर्यटन क्षेत्रमा लगानीका सम्भावना धेरै छन् । प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै विशेषता भएकाले लगानीको स्वरूप पनि फरक हुन सक्छ । हिमाली क्षेत्रहरूमा साहसिक पर्यटन र ट्रेकिङका लागि होटेल, होमस्टे, ट्राभल एजेन्सी, गाइड सेवा र यातायात प्रणालीमा लगानी गर्न सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निजी क्षेत्रबाट स्थापित ट्रेकिङ एजेन्सी, होटेल तथा लजहरूले उल्लेखनीय आम्दानी गर्न सफल भएका छन् । यस्ता क्षेत्रमा सानो पूँजी लगानी गरेर पनि राम्रो प्रतिफल पाउन सकिन्छ भन्ने प्रमाण सिरुबारी र घलेगाउँजस्ता गाउँपर्यटन स्थलबाट पाइन्छ, जहाँ थोरै लगानीमा सञ्चालन गरिएका होमस्टेहरू वर्षेनी लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् । गाउँ पर्यटनले स्थानीय जनताको आम्दानी बढाएको मात्र होइन, स्थानीय संस्कृति, खाना, परम्पराको संरक्षणमा पनि योगदान दिएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्यटनमा पनि लगानीको ठुलो सम्भावना छ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुरजस्ता स्थलमा तीर्थयात्रा केन्द्र, ध्यान तथा योग केन्द्र, धर्मशाला र संस्कृतिसम्बन्धी संग्रहालयको निर्माण गरी लगानी गर्न सकिन्छ । उदाहरणस्वरूप, लुम्बिनीमा थाइल्याण्ड, कोरिया, चीन, म्यानमारजस्ता देशहरूले आफ्नो धार्मिक आस्थाअनुसार स्तूप र ध्यान केन्द्र निर्माण गरेका छन्, जसबाट प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ । लुम्बिनी क्षेत्रको भौतिक विकासमा ती लगानीहरूको योगदान उल्लेखनीय छ । साथै, धार्मिक पर्यटन स्थायी र सुरक्षित पर्यटनको स्वरूप पनि हो जसले समग्र अर्थतन्त्रमा दीर्घकालीन लाभ पुर्याउन सक्छ ।

नेपालको भौगोलिक बनावट, नदी र प्राकृतिक सौन्दर्यले साहसिक पर्यटनमा लगानीको ठूलो सम्भावना प्रदान गर्छ । प्याराग्लाइडिङ, बन्जी जम्प, रिभर राफ्टिङ, माउन्टेन बाइकिङ, रक क्लाइम्बिङ, स्काई डाइभिङजस्ता साहसिक गतिविधिमा निजी क्षेत्रले लगानी गरिरहेको छ । पोखराको प्याराग्लाइडिङ उद्योग, भोटेकोेसीको राफ्टिङ, कुश्मा बन्जी जम्प यस्ता सफल उदाहरण हुन्, जहाँ लाखौंको लगानीबाट करोडौंको कारोबार भइरहेको छ । सगरमाथा आधार शिविर ट्रेक र आरोहणसम्बन्धी सेवा प्रदायकले प्रत्येक सिजनमा उल्लेखनीय आम्दानी गर्ने गरेका छन्, जसमा हवाई सेवा, क्याम्पिङ, खाना, गाइड र पोर्टर सेवा सबै समावेश हुन्छन् ।

विगत केही वर्षयता स्वास्थ्य, योग तथा वेलनेस पर्यटनमा समेत लगानी बढिरहेको छ । नेपालको शान्त, हरियाली र हिमाली वातावरणले ध्यान र मानसिक शुद्धीकरणका लागि उपयुक्त गन्तव्य बनाएको छ । ओशो तपोवन, पोखराका योगा सेन्टरजस्ता संस्थामा विदेशी पर्यटकको आकर्षण देखिन्छ । यस्ता केन्द्रमा लगानी गरेर विदेशी मुद्रा आर्जन मात्र नभई नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ । हाल विश्वव्यापी रूपमा वेलनेस टुरिजममा ठूलो विस्तार भइरहेको अवस्थामा नेपाल यसबाट लाभ लिन सक्ने अवस्था छ, यदि नीतिगत प्रष्टता र पूर्वाधारको सुदृढता सुनिश्चित गरियो भने ।

नेपालले पर्यटन क्षेत्रमा लगानी गर्दा अन्य देशहरूको अनुभवबाट धेरै कुरा सिक्न सक्छ । धेरै देशहरूले पर्यटन क्षेत्रमा गरेको सफल लगानीबाट नेपाल पनि प्रेरित हुन सक्छ । इन्डोनेसिया बालीको पर्यटन क्षेत्रले सस्तो र प्रभावकारी लगानीमा ठूलो सफलतासम्मको यात्रा गरेको छ । बालीले पर्यटक आकर्षणको रूपमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता प्रयोग गरेको छ । सरकारले सस्तो तर प्रभावकारी रचनात्मक प्रचार, स्थानीय समुदायलाई समावेश गरेर पर्यटन व्यवसायको विकास गरेको छ । विशेष गरी, समुद्र तट पर्यटन र सांस्कृतिक गतिविधिहरूको प्रचार गरेर यसले स्थानीय जनतालाई रोजगार अवसर प्रदान गरेको छ । यसले पर्यटनको क्षेत्रलाई एकीकृत र स्थिर बनाएको छ, जुन नेपालका लागि एक उत्कृष्ट उदाहरण हो ।

कोस्टारिकाले इकोटुरिजममा गरेको लगानी निकै सफल भएको छ । यसको इकोटुरिजम मोडेलले स्थानीय समुदायलाई समेत समेट्दै जैविक विविधता र पर्यावरणीय सन्तुलनलाई संरक्षण गरेको छ। कोस्टा रिकामा बनाइएको जैविक संरक्षण पार्क र इकोलजिकल रिजÞर्वहरूमा विदेशी पर्यटकहरूको ठूलो चासो देखिन्छ । यी परियोजनाले केवल पर्यटनको प्रवद्र्धन मात्रै गरेको छैन, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाएको छ । नेपालले पनि यस्ता प्रोजेक्टहरूमा लगानी गरेर जैविक विविधता र सांस्कृतिक धरोहरको संरक्षण गर्न सक्छ । केन्यामा गरिएको लगानीले जंगली जीवन र प्रकृति पर्यटनलाई विश्वभर चिनाएको छ । खासगरी, केन्याको मासाई मारा र अंबोसेली राष्ट्रिय निकुञ्जमा गरिएको लगानीले पर्यटकको ठूलो संख्या आकर्षित गरेको छ ।

केन्याले पर्यटन विकासको सन्देश दिनमा सार्वजनिक र निजी क्षेत्रको साझेदारीलाई महत्व दिएको छ । विशेषगरी, सामुदायिक पर्यटन विकास र संरक्षणका लागि त्यहाँका जनतालाई संलग्न गरेको छ । नेपाल पनि आफ्ना जैविक संरचना, जंगली जीवन र सामुदायिक पर्यटनको प्रवद्र्धनमा यस्ता साझेदारीको लाभ लिन सक्छ । यी उदाहरणले नेपाललाई पनि मार्गदर्शन गर्न सक्छन् कि पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि सस्तो र प्रभावकारी लगानी, स्थानीय समुदायको संलग्नता, र जैविक र सांस्कृतिक संसाधनको संरक्षण कति महत्वपूर्ण छ । यस्ता मोडेलले नेपालका पर्यटन क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्न सक्छ ।

डिजिटल प्रविधिमा आधारित लगानी पनि पर्यटनको अर्को संभावनाशील क्षेत्र हो । विश्वका अधिकांश पर्यटकहरू अनलाइन सेवा, मोबाइल एप्स, डिजिटल गाइड, भुक्तानी प्रणाली, अनलाइन बुकिङ र रिभ्युमा भर पर्न थालेका छन् । नेपालमा पनि हाल त्यस्ता एप्सले अन्नपूर्ण क्षेत्रमा मोबाइलमार्फत ट्रेकिङ गाइड, लोकेसन इन्फो, मौसम रिपोर्ट, तथा होटेल बुकिङ सेवा उपलब्ध गराइरहेको छ । यस्ता प्रविधि आधारित स्टार्टअपमा लगानी गर्दा न्यून पूँजीमा उच्च प्रतिफल पाउन सकिन्छ। साथै, पर्यटनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रवाहलाई सहज बनाउने कार्यमा प्रविधिले ठूलो भूमिका खेल्दछ ।

तर, लगानीसँगै चुनौतीहरू पनि छन् । सबैभन्दा पहिले, पूर्वाधारको अभाव पर्यटन विकासको प्रमुख बाधा हो । धेरै गन्तव्यमा सडक, विद्युत्, खानेपानी, इन्टरनेटजस्ता आधारभूत सेवाको अभावले पर्यटकको अनुभव कमजोर पार्दछ । उदाहरणका लागि, रारा ताल, खप्तड, शैल्यशिखर, कञ्चनजंघा जस्ता क्षेत्रहरू अझै पनि पूर्वाधारको अभावका कारण अपेक्षित संख्यामा पर्यटक भित्र्याउन असमर्थ छन् । दोस्रो, सरकारी नीतिको अस्पष्टता र प्रशासनिक ढिलासुस्तीले लगानीकर्तालाई निरुत्साहित बनाउने गरेको छ । पर्यटन क्षेत्रका लागि एकद्वार प्रणालीको अभाव, स्वीकृति प्रक्रियाको लम्बाई, र कर प्रणालीमा स्पष्टता नहुनु चुनौतीहरू हुन् ।

त्यस्तै, सीपयुक्त जनशक्ति अभावले पनि लगानीको प्रभावकारिता घटाएको छ । गाइडहरूमा भाषा सीप, आतिथ्यकला, जस्ता गुणहरू आवश्यक पर्छन्, जुन हालको अवस्थामा धेरै क्षेत्रमा अभाव देखिन्छ । अर्को चुनौती भनेको वातावरणीय सन्तुलन हो। हरेक लगानी वातावरणमैत्री हुनुपर्छ भन्ने चेतना र योजना बिना गरिने निर्माणले दीर्घकालीन रुपमा जैविक विविधता, पानी स्रोत, तथा सामुदायिक संरचनालाई असर पार्ने खतरा हुन्छ । यी चुनौतीहरूको समाधानका लागि लगानीमैत्री वातावरण निर्माण गर्नु आवश्यक छ । सरकारले पर्यटन क्षेत्रका लागि स्पष्ट, सरल र स्थायी नीति ल्याउनुपर्छ ।

लगानीकर्तालाई प्रोत्साहनस्वरूप कर छुट, सहुलियतपूर्ण ऋण, सहकार्यका मोडेलहरू र वैदेशिक लगानी सुरक्षाको प्रत्याभूति गर्नुपर्छ । सार्वजनिक–निजी साझेदारीलाई विस्तार गर्नुपर्छ र स्थानीय तहका सरकारसँग समन्वय गरी पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्छ । साथै, प्राविधिक शिक्षा, गाइड तालिम, भाषा प्रशिक्षण, आतिथ्य व्यवस्थापन तालिमहरूमार्फत जनशक्ति सशक्तीकरण गर्न सकिन्छ। यसले लगानीको प्रतिफल मात्र होइन, समग्र पर्यटन सेवाको गुणस्तर बढाउनेछ । यसैगरी, लगानीकर्ताले स्थानीय समुदायलाई समावेश गरेर पर्यटन विकासको साझा मोडेल अपनाउनुपर्छ, जसबाट दीर्घकालीन सामाजिक स्वामित्व र आत्मीयता विकास हुन्छ ।

होमस्टे, सामुदायिक ट्रेकिङ मार्ग, स्थानीय हस्तकला व्यापार जस्ता कार्यक्रमहरूमा लगानी गर्दा सामाजिक–आर्थिक परिवर्तनसँगै दीगो पर्यटनको विकास पनि सम्भव हुन्छ । अन्ततः, नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नु भनेको केवल आर्थिक लाभ लिनु मात्र होइन, मुलुकको समृद्धि, स्थानीय विकास, सांस्कृतिक संरक्षण र वातावरणीय सन्तुलनको संवाहक बन्नु हो । यदि योजना, नीति, प्राविधिक सहयोग र स्थानीय सहभागिता सुनिश्चित गरियो भने, नेपालको पर्यटन क्षेत्र आगामी दशकमा लगानीको सबैभन्दा आकर्षक गन्तव्य बन्नेछ ।
(लेखक पर्यटन विषयका प्राध्यापक हुन् ।)

You might also like

Comments are closed.