काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुनेछ । सरकारले हालै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा महत्वपूर्ण संशोधन गरिएको हो ।
संशोधित ऐनअनुसार दफा ५४ को उपदफा ३ मा व्यवस्था गरिएको सवारी चालक अनुमतिपत्रको बहाल अवधि पाँच वर्षबाट बढाएर अब १० वर्ष कायम गरिएको छ । साथै, लाइसेन्स नवीकरणपछि पनि मान्य हुने अवधि १० वर्ष नै हुने व्यवस्था गरिएको छ । यसअघि नवीकरण गरेपछि मात्र पाँच वर्षका लागि मात्र मान्यता दिने प्रावधान थियो ।
नयाँ व्यवस्थाबाट सवारी चालकहरूलाई बारम्बार लाइसेन्स नवीकरणको झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ । यसले प्रशासनिक प्रक्रिया सरल बनाउने र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रहरूको सञ्चालनमा अब निजी क्षेत्रले पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । यसले सेवा विस्तार, दक्ष परीक्षण प्रणालीको विकास र सार्वजनिक–निजी सहकार्यमा आधारित प्रभावकारी सेवा प्रणाली निर्माणमा मद्दत पुर्याउने सरकारको विश्वास छ ।
सरकारको यो निर्णय लागू भएसँगै सवारी अनुमतिपत्र सम्बन्धी सेवा प्रणालीमा दीर्घकालीन स्थायित्व आउने र सेवा गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।
Comments are closed.