महासंघको प्रदेश भवन बनाउँछु, निजी क्षेत्रको हकहितमा काम गर्छु : दुर्गाराज श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचन यही चैत २३ र २४ गते प्रदेश राजधानी हेटौंडामा हुँदैछ । मतदानको मिति नजिकिएसँगै चुनावी रौनक पनि बढेको छ ।

यसैबीच, महासंघको बागमती प्रदेश अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी दर्ता गरिसकेका छन् । उनले उम्मेदवारी दर्तासँगै महासंघको हकहितमा आफूले निरन्तर काम गरिरहेको र आगामी दिनमा अझै दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । महासंघको बागमती प्रदेशमा उनले २ कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेकाले पनि अध्यक्षमा उनको उम्मेदवारीलाई स्वभाविक मानिएको छ ।

महासंघको बागमती प्रदेश भवन बनाएर व्यवस्थित सचिवालय बनाउने उनले प्रतिबद्धता जनाएका छन् । प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघहरु तथा एसोसिएट सदस्य लगायत समग्र निजी क्षेत्रको हिकहितमा निरन्तर सक्रियका साथ काम गर्ने उनले बताए । महासंघ केन्द्रसँगसमेत समन्वय गर्दै काम गर्ने उनको प्रतिबद्धता छ ।

श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको महासचिवसमेत हुन् । नेपाल वितरक संघको पूर्व अध्यक्ष पनि हुन् । बस्तुगत संघ र उद्योग वाणिज्य संघको नेतृत्व तहमा रहेर काम गरेको अनुभवले पनि आफूलाई निजी क्षेत्रको समस्याहरुको बारेमा नजिकबाट ज्ञान रहेको बताउँदै श्रेष्ठले महासंघको प्रदेश अध्यक्षमा अत्याधिक मतसहित आफू विजयी हुनेमा विश्वस्त रहेको बताए ।

उनको प्यानलबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा कबिराज खत्रीले उम्मेदवारी दिएका छन् । बस्तुगत उपाध्यक्षमा प्रेमहरि मैनालीको उम्मेदवारी छ । एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन् । कोषाध्यक्षमा जीवनकाजी माकाजूको उम्मेदवारी छ ।

त्यसैगरी सदस्यमा जिल्ला नगरतर्फ सनत थापा, कृष्णमुरारी न्यौपाने, राजकुमार कँडेल, जयप्रकाश श्रेष्ठ, विष्णु खलान उम्मेदवार छन् । बस्तुगत सदस्यमा सदिश श्रेष्ठ र ज्योतिरत्न बज्राचार्य निर्विरोध भइसकेका छन् । एसोसिएट सदस्यमा प्रदिपमान प्रधान र उत्तम शर्मा ढकालको उम्मेदवारी छ ।

You might also like

Comments are closed.