‘नाडा अटो शो’ मा सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक हुने, यस्ता छन्, विशेषता

काठमाडौं । ‘नाडा अटो शो २०२५’ मा सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक गरिदैछ । नाडा अटो मोबाइल एशोसिएसनको आयोजनामा हुने ‘नाडा अटो शो’ अवसर पारेर सुजुकीको पहिलो इलेक्ट्रिक कार सार्वजनिक गर्न लागिएको हो ।

नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले इलेक्ट्रिक कार ई–भिटारा उपलब्ध गराउने भएको हो । नेपाली बजारमा अन्य ब्राण्डका ईभीको दबदबा रहेको समयमा सुजुकीको ईभी भने उपलब्ध छैन । अब पहिलो पटक नेपाली बजारमा सुजुकीको ईभी समेत उपलब्ध हुनेछ । भारतमा गत फेब्रुअरीमा सम्पन्न अटो एक्स्पोमा सो गाडी पहिलो पटक प्रदर्शन गरिएको थियो ।

४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने सो कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ । नेपाली बजारमा उपलब्ध हुने ई–भिटाराको ब्याट्री र अन्य जानकारी भने कम्पनीले पछि नै सार्वजनिक गर्ने बताइएको छ ।

ई–भिटारामा डुअल स्क्रिन, पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, पावर ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, स्लाइडिङ र रिक्लिनिङ रियर सिट तथा लेभल–२ एडीएएस छ । ई–भिटारामा सिंगल–मोटर टु–ह्विल ड्राइभ कन्फिगरेसन र ७० किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट हुनेछ ।

सो गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’ सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडास जस्ता सेफ्टी फिचर रहेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आउँदो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुने ‘नाडा अटो शो’ को तयारी भइरहेको छ । सो अवसरमा विभिन्न कम्पनीका विभिन्न मोडलहरु पनि सार्वजनिक हुनेछन् ।

You might also like

Comments are closed.