टर्की- सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

काठमाडौं । टर्की- सिरिया भूकम्प परी ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । हालसम्म टर्कीमा २० हजार ६ सय ६५ जना र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ।

भूकम्पका कारण सिरियामा मात्रै ५३ लाख मानिस घरबार विहीन हुने राष्ट्र संघको अनुमान छ । टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार गरिएको छ ।

यसअघि भूकम्प गएको एक सय १० घण्टामा एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो । हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना १० दिनको शिशु र उनकी आमाको जीवितै उद्धार भएको थियो ।

त्यहाँ उद्धार कार्यमा एक लाख ६६ हजार जनाभन्दा बढी मानिस खटिएका बीबीसीले जनाएको छ। उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् ।

टर्कीमा सोमवार बिहान सात दशमलव ८ रेक्टर र दिउँसो सात दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । संयुक्त राष्ट्र संघले टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल पकाएको खानाको अभाव रहेको जनाएको छ।

You might also like

Comments are closed.