१४औं इक्यान शैक्षिक मेला सुरु, देशभरका विद्यार्थी अभिभावक सहभागी हुन सक्ने

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित १४औं संस्करणको ‘इक्यान शैक्षिक मेला’ सुरु भएको छ । शुक्रबार सुरु भएको शैक्षिक मेला माघ ५ गतेसम्म जारी रहनेछ । कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गरी अनलाइन (भर्चुअल) माध्यमबाट मेला आयोजना गरिएको छ ।

मेलाको शुभारम्भ गर्दै इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभाबकका लागि मेला प्रभावकारी हुने बताए । कोभिडका कारण परिवर्तित भएको शैक्षिक प्रणाली, विभिन्न देशका भिसा प्रक्रिया लगायत विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी मेलाबाट लिन सकिने उनले बताए । भर्चुअल माध्यमबाट आयोजित मेलामा सहकार्य गर्ने सम्पूर्णप्रति उनले आभार व्यक्त गरे ।

व्रिटिस काउन्सिल नेपालका हेड अफ अपरेसन सुविन बज्राचार्यले इक्यान फेयरमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । देशभरका विद्यार्थी तथा अभिभाबकहरु मेलामा सहभागी हुन सक्ने महासचिव दीपकराज भुसालले बताए । ४ दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म मेला जारी रहने मेलाका संयोजक बासुदेव दाहालले जानकारी दिए ।

jutta mela

इक्यानमा आबद्ध १ सय भन्दा बढी शैक्षिक परामर्शदातृ संस्थाहरु मेलामा सहभागी भएका छन् । विदेशस्थित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको पनि मेलामा सहभागिता छ ।

बिगतका वर्षमा राजधानीको भृकुटीमण्डमा हुँदै आएको मेला कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गरी यसपटक अनलाइनमार्फत सञ्चालन भएको हो । अनलाइन मेलामा विद्यार्थीले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धित कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन सक्नेछन् ।

You might also like

Comments are closed.