इक्यान फेयरमा स्कलरसिप, ग्राण्ट, फेलोसिप, स्टेपेण्ड, असिस्टेन्सिपबारे सम्पूर्ण जानकारी

रत्न भट्टराई, आन्तरिक मामिला तथा अनुशासन विभाग संयोजक, इक्यान

बिगत लामो समयदेखि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा इक्यान एजुकेसन फेयर हुँदै आइरहेको छ । फेयर इक्यानको क्यालेण्डरमा नै समावेश गरिएको रेगुलर कार्यक्रम पनि हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा तिनको अभिभावकहरुका लागि परामर्श लिन राम्रो र प्रभावकारी माध्यम इक्यान फेयर बन्दै आइरहेको छ ।

अघिल्लो वर्षसम्म हामीले प्रत्यक्ष रुपमा भृकुटी मण्डपमा कार्यक्रम गर्दै आइरहेका थियौं । यसवर्ष कोभिड महामारीको कारण प्रत्यक्ष कार्यक्रम गर्नु चुनौतिपूर्ण नै थियो । विषम परिस्थितिलाई मध्यनजर गरी अनलाइन (भर्चुअल) माध्यमबाट फेयर सुरु भएको छ । फेयरको दोस्रो दिनसम्म आइपुग्दा देशभरबाट विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । अझै मेला २ दिनसम्म जारी रहन्छ । आइतबार र सोमबार मेलामा अझै बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने मैले विश्वास लिएको छु ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले एउटै मेलाबाट सम्पूर्ण जानकारी लिन पाएका छन् । आफूले रोजेको जस्तो देश, कलेज तथा विश्वविद्यालयको छनोट गरी जानकारी लिन सकिन्छ भने आफूले चाहेको कन्सल्टेन्सी समेत छनोट गरी परामर्श लिन सकिने व्यवस्था गरिएको छ ।

विभिन्न संस्थाहरुले विभिन्न तह (डिप्लोमा तथा ब्याचलरदेखि पिएचडीसम्म) लाई दिदै आएको स्कलरसिप, ग्राण्ट, फेलोसिप, स्टेपेण्ड, असिस्टेन्सिपका बारेमा जानकारी लिन पाउनु भर्चुअल फेयरको मुख्य आकर्षण हो । एडमिसन प्रोसेसका लागि पनि विद्यार्थीले सल्लाह सुझाव पाउनेछन् । मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त र इक्यानका मेम्बर संस्थाहरुसहित विदेशी संस्थाहरुको पनि सहभागिता रहेकाले सम्पूर्ण विद्यार्थी तथा अभिभावक वर्गलाई मेलामा सहभागी भइ विदेशको उच्च शिक्षासँग सम्बन्धी सम्पूर्ण जिज्ञासाहरु मेटाउन पनि म अनुरोध समेत गर्दछु ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.