काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल गरिएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराइन् ।
निर्वाचन सम्पन्न गर्न सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालासँग छलफल गरिने, निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन प्रधानमन्त्री कार्कीले आग्रह गरिन् ।
छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यकपर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको र मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनीतिक दल लगायत सरोकारवालासँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् ।
छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ लगायत सहभागी थिए ।
Comments are closed.