प्रेम पुन्थोकी, काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘फीन इलेक्ट्रो टेक-२०२२’ चलिरहेको छ । आयोजकको दावी अनुसार नेपालको एकमात्र इलेक्ट्रिक एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण ‘ फीन इलेक्ट्रो टेक– २०२२’ दुई वर्ष अगाडि नै हुनुपर्नेमा कोरोना महामारीका कारण दुई वर्ष धकेलिएर अहिले आयोजना भएको हो ।

मङ्सिर २२ गते देखि २५ गते सम्म चल्ने विद्युतीय मेलामा ४९ वटा ब्लकमा ७५ वटा स्टल छन् । प्रर्दशनीमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएको छ । साथै फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाको आकर्षण रहेका छन् । इलेक्ट्रोटेकमा नेपालभरका र नेपाल बाहिरका ब्राण्डहरु सहभागी भएका छन् ।

महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्याल परिस्थिति प्रतिकुल भएपनि हाम्रो मनस्थिति अनुकुल बनाउँदा उत्साह थपेको बताउँछन् । व्यवसायी मात्र नभएर उपभोक्तालाई समेत मेला प्रभावकारी रहने उनको भनाइ छ । खासगरी निर्माण व्यवसायी जसले ठूला ठूला संरचना बनाउँछन् उनीहरुको लागि यो मेला लाभदायी छ । त्यस्तै दोस्रो मेकानिक, इलेक्ट्रिक, आर्किटेक्चरर इन्जिनियर,इलेक्ट्रिसियन लगायतले मेलाबाट लाभ लिनेभए । यसबाट उनीहरुले नयाँ उत्पादनको अपडेट लिनको लागि मौका मिल्यो । सेफ्टी मेजर, सुरक्षाका डिभाइस जसको कारण व्यक्ति, घर, व्यवसायको सुरक्षामा सहयोग मिल्छ । अटोमेसनमा लाइटिङ आएका छन् । स्मार्ट स्वीच आएका छन् । यसको बारेमा मेलामा सहभागीहरुले अधिकतम लाभ लिन सक्ने अवस्था छ । तेस्रो मेलाले इन्जिनियरिङ कलेजका विद्यार्थी र प्राध्यापकले अवलोकन गरेर लाभ लिनेछन भने चौंथो उपभोक्त जसले घरायसी प्रयोजनका सामग्री एउटै छानामुनी अवलोकन र खरिद गर्ने अवसर पाउनेछन् । पछिल्लो समयमा देश विदेशमा आएको नविनतम प्रविधिप्रति उपभोक्ताको लगाव बढ्दै गएको र नविनतम उपलब्धी प्रयोगमा उपभोक्तामा उत्सुकता देखिएको उनको भनाइ छ ।

अध्यक्ष पौड्याल नेपालमा विद्युतको उत्पादन बढ्दै गएको र त्यसको खपत नेपालमै हुनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताउँछन् । खासगरी अहिलेको अवस्थामा वर्षयाममा २०६६ मेगावाट विद्युत उत्पादन हुन्छ भने पिक आवरमा १८०० मेगावाटको विद्युतको माग छ । वर्षायाममा उत्पादन बढेर केही निर्यात भएको छ । ‘हामी त्यो विद्युत नेपालमै खर्च गर्नुपर्छ भन्ने मान्यता राख्छौं’, उनले भने । यसले पहिलो कुरा आयात प्रतिस्थापनमा मद्धत गर्छ । १ खर्ब ५० अर्बको इलेक्ट्रिकल इलेक्ट्रोनिक्सको बजार छ, त्यसमा ०७८÷०७९ को भन्सार विभागको तथ्यांक अनुसार १ खर्ब १३ अर्बको आयात भएको देखिन्छ । आयातलाई प्रतिस्थापन गर्नको लागि उर्जा खपत बढाउनुपर्ने उनको धारणा छ ।
अहिले एलपि ग्याँसको प्रयोग बढेको छ भने विद्युीतय चुलो बाल्दा उर्जा खपत र उपभोक्तालाई सस्तो समेत पर्न जान्छ । ‘अहिले हामीले मुलुकको हित सोंचेर आयात प्रतिस्थापन र मुलुकको समृद्धिको लागि हामी व्यवसायी पनि यस तर्फ सकारात्मक सोंचका साथ अगाडि बढेका छौं’, उनले भने ।

महासंघका महासचिव कोमल पोखरेल मेलाको माध्यमबाट थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ कि भन्ने मान्यताका साथ मेलाको आयोजना गरिएको बताउँछन् । बजारमा छिटो छिटो नयाँ नयाँ प्रविधि भित्रिने र मेलाले प्राविधिक व्यक्तिहरु, उपभोक्ताहरुलाई एउटै छानामुनी राखेर यसको बारेमा जानकारी पाउन सक्ने उनको भनाइ छ । व्यापारमा आएको मन्दीका कारण अफ्ठ्यारोमा परेका व्यवसायीलाई प्रर्दशनीले मुद्रा चलायमान बनाएर राहत मिल्ने उनको अनुमान छ । अहिलेको अवस्थामा अन्य व्यवसायी पनि मारमा छन् तर हाम्रो व्यवसाय अझै गम्भिर अवस्थामा गएको उनको भनाइ छ । बैंकले नै घरजग्गा लगायतका निर्माण कार्यको लागि ऋण प्रवाह गरेन त्यसको कारण हामीलाई त्यसको प्रत्यक्ष असर पर्यो । ‘तर अहिले सुधारका संकेत देखिएको छ । निर्वाचन सम्पन्न भएर, नयाँ सरकार बन्ने क्रममा छ, यसले सकारात्मक परिवर्तनको संकेत गरेको छ ’ उनले भने ।

उपभोक्ताको क्रय क्षमतामा आएको ह्रासका कारण असर धेरै परेको उनको ठम्याई छ । । उपभोक्ताले विद्युतीय सामाग्री किन्न नसक्ने अथवा किन्ने इच्छा नदेखाएकै कारण व्यापारमा मन्दी आएको हो । ‘ हामी पनि त्यसको असरको प्रभावमा पर्यौं’, उनले भने । सरकारले आयातको प्रतिवन्ध हटाएर राम्रो काम गरेको भएपनि बैंकसँग प्रशस्त पैसा नभएको कारण एलसी रकमको ११० प्रतिशत सुरु मै जम्मा गरेर आयात गर्न पाउने व्यवस्थाका कारण आयातमा असर गरेको उनको भनाई छ । नेपाल घरायसी प्रयोजनका केही विद्युतीय सामाग्रीमा मात्र आत्म निर्भर रहेकोले विद्युतमा एलइडी जन्य बस्तुको कच्चा पदार्थ, अर्ध तयारी बस्तु आयात गर्दा भन्सारमा राज्यले छुट दिए राम्रो हुने उनको सुझाव छ ।

२५ गतेसम्म चल्ने मेलाको टाइटल स्पोन्सरमा राठी स्वीच एण्ड केबल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबल (महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) छन् ।








Comments are closed.