विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै

फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो ।

सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा तह हाइड्रोपावर इञ्जीनियर पढाइने गाउँपालिकाले जनाएको छ । विपन्न परिवार तर जेहेन्दार एक छात्रा र एक छात्र गरी दुई जनालाई इञ्जीनियर पढाउने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । जिल्लामा जलविद्युत् आयोजना धेरै निर्माण हुने क्रममा रहेकाले हाइड्रोपावर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले हाइड्रोपावर इञ्जीनियर शिक्षामा लगानी गर्ने बराइलीले बताए ।

गाउँपालिकाको २०७८/७९ को नीति तथा कार्यक्रमको चालु शैक्षिक सत्रदेखि विपन्न परिवारलाई इञ्जीनियर पढाउने कार्यक्रम भएकाले विपन्न परिवारका दुई विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढ्न इच्छुक विद्यार्थीलाई गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेलले बताए । आगामी शैशिक सत्रहरुमा पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा अन्य प्राविधिक धारका विषयमा पनि छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको शिक्षा शाखाले जनाएको छ ।

इञ्जीनियर पढ्नका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु ३३ हजार शुल्क लाग्ने र मासिक रु पाँच हजार ५०० शुल्क लाग्ने विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले बताए ।

You might also like

Comments are closed.

Secret Link