पोखरामा नयाँ इभी चार्जिङ स्टेशन सञ्चालनमा

पोखरा । पोखरा महानगरपालिका–२, मिरुवामा नयाँ इलेक्ट्रिक भेहिकल (इभी) चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । बागलुङ राजमार्गमा अवस्थित बिन्ध्यवासिनी मन्दिरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको यो चार्जिङ स्टेशनले इलेक्ट्रिक गाडी प्रयोगकर्ताका लागि ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो चार्जिङ स्टेशनको शुभारम्भ लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा सक्रिय गुडविल इलेक्ट्रोनिक्सका प्रोप्राइटर कमल श्रेष्ठले गरेका हुन् । EV–GO  FAST CHARGING STATION  यो चार्जिङ स्टेशनमा हाल ८० किलोवाट क्षमताको चार्जर जडान गरिएको छ । जसले गाडीको ब्याट्रीलाई ३० मिनेटमा २० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।

श्रेष्ठका अनुसार, यो स्टेशनमा एकै पटक ४ वटा इलेक्ट्रिक गाडीहरू द्रुत गतिमा चार्ज गर्न सकिने सुविधा छ । “हामीले यात्रुको सहजताका लागि यो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हौं, आवश्यकता अनुसार भविष्यमा थप चार्जरहरू पनि जडान गर्ने योजना छ,” उनले भने । यो चार्जिङ स्टेशन विशेषगरी बिन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने श्रद्धालु र कुस्मा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथ जाने यात्रुलाई लक्षित गरेर बनाइएको हो ।

बागलुङ राजमार्गमा पर्ने यो स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै इलेक्ट्रिक गाडी प्रयोगकर्ताको यात्रा अझ सहज र भरपर्दो हुने यात्रुले अपेक्षा गरेका छन् । चार्जिङ स्टेशनमा आधुनिक डिजिटल डिस्प्ले र प्रयोगकर्ता–अनुकूल इन्टरफेससहितको चार्जर जडान गरिएको छ ।

पोखरामा इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै गएको सन्दर्भमा यो चार्जिङ स्टेशनले दिगो यातायात र वातावरण संरक्षणमा पनि योगदान पु¥याउने विश्वास लिइएको छ । स्थानीय बासिन्दा र मुक्तिनाथ दर्शन गर्न नयाँ इलेक्ट्रिक भेहिकल गाडी लिएर हिडेका श्रद्धालुले पनि यो स्टेसन खोलेपछि निकै सहज भएको बताएका छन् ।

You might also like

Comments are closed.