एभरेष्ट बैंकले मनायो ३० औं वार्षिकोत्सव

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरmमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु १ करोडको आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् ।

यस बैंकले विभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व सङ्कलन कार्य समेत गर्दै आइरहेको छ । पंजाब नेशनल बैंक, भारत, संगको संयुक्त लगानीमा स्थापित यस बैंक स्थापनाकाल देखि नै ग्राहकको पहिलो रोजाइमा रहेको छ

करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटिएम मेशिनसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.