जुम्ला । जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन् । यहाँका नागरिक उपचार गर्नका लागि जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौंलगायत देशका ठूला सहरमा पुग्नुपर्ने बाध्यता थियो । अहिले जिल्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएपछि उपचारमा केही सहज भएको स्थानीयवासीले बताएका छन् ।
आँखाको उपचारका लागि यहाँका स्थानीय तहमा आँखा उपचार केन्द्र पनि थपिँदै गएका छन् । सिञ्जा भेगमा रहेका हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका सरमुकाम खलङ्गाबाट निकै टाढा छन् । हिमा गाउँपालिकालाई हिमालय आँखा अस्पतालले स्वास्थ्य सामग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा सेवा सञ्चालन गरेको छ । आँखा उपचार केन्द्रका लागि चाहिने मेसिनलगायत सबै सामग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।
पालिकास्तरीय आँखा उपचार केन्द्र सञ्चालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्ने छ । धुलो धुँवाका कारण गाउँमा आँखाका बिरामी बर्सेनि बढ्दै गर्छन् । “शिविर सञ्चालन गर्दा भीड हुने, टाढा गएर उपचार गराउन आर्थिकले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो”, अध्यक्ष शाहीले बताए ।
कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्यचौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हाँडसिञ्जा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले जानकारी दिए । सिञ्जा गाउँपालिकाले पनि नराकोटमा गत वर्षदेखि आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ।
सो गाउँपालिकाले पनि नेपाल नेत्रज्योति संघको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचारसम्बन्धी दक्ष एक जना नायब सुब्बास्तरको कर्मचारी व्यवस्थापन गरेको छ। नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी बिरामी भएका व्यक्तिलाई राहत पुगेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँमा एक घर एक धारा निर्माण हुँदा स्थानीयवासीलाई राहत भएको छ। एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले हटेको स्थानीयवासी धनलाल बस्नेतले बताए । विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुलजस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिएका छन् ।
अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताएका छन् । धारामा पानी आएर स्थानीयवासीले खानेपानीको प्रयोग गरिसकेका छन् ।
कुल रु ६९ लाख ९२ हजार लागतमा खानेपानी धारा निर्माण भएको छ । २० घनमिटरको दुईवटा पानी संकलन ट्याङ्की बनेका छन् । अब पानी ल्याउन टाढा जानु पर्दैन । समयको समेत बचत भएको जुम्लाकोटका स्थानीयवासी बताउँछन् ।
Comments are closed.