निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको ध्यानाकर्षण

काठमाडौं । निर्माण उद्योगमा संलग्न व्यवसायीको सुरक्षाका विषयमा सरोकारवाला निकाय गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गर्दै मकवानपुरको शहरी विकास तथा भवन कार्यालय र दोलखा काली भूमे कन्स्ट्रक्शन एण्ड सप्लार्यस प्रा.लि बीच ठेक्का सम्झौता भई कार्य भइरहँदा महिला निर्माण व्यवसायी मञ्जु लामामाथि भएको अभद्र व्यवहारप्रति कडा आपत्ति जनाइएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नं का ४ का वडाध्यक्ष नवीन सिग्देलले लामामाथि यही असार १९ गते अभद्र व्यवहार गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा थुनाउने कार्य गरेको घटनाको भत्सर्ना गर्दै महासंघले त्यसप्रति खेद व्यक्त गरेको छ ।

‘सम्बन्धित् कार्यालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाई आपसी संवादमार्फत् निश्पक्ष छानबिन गरी समस्या समाधान गर्नुपर्नेमा वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट निर्माण कार्य तीव्र रुपमा गर्नुपर्ने अहिलेकै सिजनमा महिला निर्माण व्यवसायी उपर भएको यस किसिमको हर्कतबाट जनप्रतिनिधिमा सत्ता उन्माद भई कानूनी शासनको उपहास गरिएको महासंघको ठहर छ ’ महासचिव दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी लामालाई तत्काल रिहा गरी घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न तथा देशभरका निर्माण व्यवसायीहरू, उनीहरूमा आश्रित कामदार सहित निर्माण उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले जोडदार माग गरेको छ । व्यवसायीमाथिको यस किसिमको निन्दनीय घटना बन्द नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.