आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न नवगठित सरकारलाई महासंघको अपिल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले जेनजी आन्दोलनले राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालीन रुपमा गम्भीर असर पर्ने गरी पुगेको क्षतिप्रति घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ ।

आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेका निजी क्षेत्र त्रसित रहेको छ । आन्दोलनको क्रममा भएको आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न जोसुकैलाई तत्काल कानून अनुसार कारबाही गर्न महासंघको जोडदार माग छ ।

भ्रष्टाचार निवारण, सुशासनको प्रत्याभूति, सामाजिक सञ्जाल सञ्चालन लगायतका मागसहित ‘जेनजी’ पुस्ताद्वारा गत भदौ २३ गते भएको देशव्यापी प्रदर्शनमा प्रहरी दमन हुँदा ठूलो मानवीय क्षति पुगेको छ । महासंघले प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

“जेन्जी पुस्ताको माग विपरित सार्वजनिक तथा निजी सम्पत्तिसहित ऐतिहासिक धरोहर आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटनाबाट महासंघ दुःखि छ, निजी क्षेत्रको मनोबल गिर्ने गरी जोकोहीबाट भएको त्यस्ता ध्वंसात्मक गतिविधिको भत्र्सना एवं निन्दा गर्दछौँ” महासंघले उल्लेख गरेको छ ।

आन्दोलनका क्रममा निर्माणधीन संरचनामा भएको क्षतिको सम्बन्धित निर्माण कम्पनीलाई सम्झौता बमोजिम राहत तथा सुविधा दिनुपर्ने, अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न दिनु राज्यको पहिलो दायित्व भएकाले त्यसतर्फ छिटो भन्दा छिटो पहलकदमी लिन अनुरोध गरिएको छ । मुलुकमा हाल अन्तरिम सरकार गठन भइसकेको अवस्थामा जेनजी पुस्ताको चाहना अनुरुप देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि तत्काल आवश्यक पहल गर्न महासंघले ध्यानाकर्षण जनाएको छ ।

पूँजीगत खर्चमा वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन र संकटग्रस्त अवस्थामा रहेको निर्माण उद्योगसहित सिङ्गो निजी क्षेत्रको मनोबल नगिर्ने गरी र्आिर्थक स्थायित्वलाई उच्च प्राथमिकतामा राखेर अविलम्ब ठोस आर्थिक रणनीतिसहित अघि बढ्न नवगठित सरकार समक्ष महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तीमा अपिल गरिएको छ ।

You might also like

Comments are closed.